काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुको सांगठनिक कार्यविभाजनबारे ठोस निर्णय लिने जिम्मा अध्यक्ष र उपाध्यक्षहरुलाई जिम्मा लगाईएको छ ।
मंगलबारको पदाधिकारी बैठकले कार्यदलले तयार पारेको प्रतिवदेनका आधारमा ठोस कार्यविभानजन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरालाई दिएको हो ।
१२ माघमा सुरु भएको स्थायी समितिको बैठकले महासचिव देव गुरुङको नेतृत्वमा उपमहासचिवहरु रहेको कार्यदललाई कार्यविभाजनबारे प्रस्ताव ल्याउने जिम्मेवारी दिएको थियो ।
उक्त कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवदेन तयार पारेकाले त्यसबारे ठोस निर्णय लिने अधिकार अध्यक्ष र उपाध्यक्षलाई दिएको माओवादी केन्द्रका नेता पेशल खतिवडाले जानकारी दिए।
‘कार्यदलले नीतिगत कुराहरु राखेर रिपोर्ट पदाधिकारीमा पेश गरेको हो,’ उनले भने, ‘आजको पदाधिकारीको बैठकले त्यसलाई अलि अलि परिमार्जन गरेको छ। त्यसलाई ठोस गर्न चाहिँ पात्र, पात्रमा गएर गर्नुपर्ने रहेछ । त्यसको जिम्मा अध्यक्ष र उपाध्यक्षलाई दिइएको छ।’
प्रतिक्रिया दिनुहोस्