Ads

बाबुरामलाई राष्ट्रपति बनाउँदा प्रचण्डलाई घाटा कि नाफा ?


काठमाडौं । आगामी फाल्गुण २५ गते राष्ट्रपतिको निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार राष्ट्रपतिको निर्वाचन फाल्गुण २५ मा र केही दिनपछि उपराष्ट्रपतिको निर्वाचन हुने छ ।

संविधानको धारा ६१ मा राष्ट्रपति र उपराष्ट्रपतिसम्बन्धी व्यवस्था छ । धारा ६४ मा राष्ट्रपतिको योग्यतासम्बन्धी प्रावधान छ । यो धाराको उपधारा (२) मा लेखिएको छ– उपधारा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन ।’ विद्यादेवी भण्डारी फेरि उम्मेदवार हुन सक्ने छैनन् । उनले दुई कार्यकाल राष्ट्रपति चलाइसकेकी छिन् । भण्डारी नेपालको दोश्रो राष्ट्रपति हुन् ।

डा. रामवरण यादव नेपालको पहिलो राष्ट्रपति हुन् । सबैजसो प्रमुख पार्टीले आफ्नो तर्फबाट उम्मेदवार अघि सारेका छन् । मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा रहेको गठबन्धन कायम भएको भए कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिका लागि एक्लो दाबेदारजस्ता थिए तर अहिले समीकरण फेरिएको छ । कांग्रेसले सरकारलाई समर्थन गरेर विश्वासको मत दिए पनि उसले अहिले प्रमुख राजकीय पद गुमाएको छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले राष्ट्रपतिमा आफ्नो दाबी रहेको भन्दै आएको छ । कांग्रेसले सरकारलाई विश्वासको मत दिनुको पछि ठूलो रहस्य लुकेको व्याख्या हुँदै आएको छ ।

कांग्रेसले पौष २६ गते प्रतिनिधिसभामा सरकारलाई विश्वासको मत दिँदा त्यसबाट आफूले कुनै फाइदा लिन नखोजेको स्पष्ट पारेको थियो । त्यो दिन संसदलाई सम्बोधन गर्दै सरकारको मुख्य घटक नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसलाई ढोक्सा नथाप्न भन्दै व्यङ्ग्य गरेका थिए । प्रचण्डको सरकारलाई २६८ जना सांसदको समर्थन छ । संसदमा सबैभन्दा बढी सिट रहेको नेपाली कांग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको थियो । संसद्मा उपस्थित २ सय ७० सांसदमध्ये सरकारको विपक्षमा २ मत खसेको थियो । प्रतिनिधिसभामा २७५ सदस्य रहेकामा विश्वासको मतका लागि गरिएको मतदानमा २७० सांसद सहभागी थिए । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद्ले भने प्रचण्डलाई मत दिएनन् ।

ओलीले संसदमा कांग्रेसले ढोक्सा थापे पनि माछा नपर्ने भनेपछि यो विषयले अहिलेसम्म पनि चर्चा पाएको छ । पछिल्लो समयमा कांग्रेसबाट कृष्णप्रसाद सिटौलाको नाम पनि राष्ट्रपतिमा आएको छ । कांग्रेसले सरकारलाई राष्ट्रिय सहमतिको बनाउनका लागि पनि आफूलाई राष्ट्रपति दिनुपर्ने तर्क गर्दै आएको छ । पूर्व उपप्रधानमन्त्रीसमेत भइसकेका सिटौलाले मंसिर ४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग झापा ३ मा पराजय व्यवहोरे । सिटौला २०७४ सालमा पनि लिङ्देनसँगै पराजित भए पनि २०७० मा भनें सोही क्षेत्रबाट लिङ्देनलाई जितेका थिए ।

लिङ्देन अहिले उपप्रधानमन्त्रीसहित उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री छन् । नेकपा एमाले अध्यक्ष ओलीले इलाम २ बाट निर्वाचित सांसद् सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने सम्भावना छ तर राष्ट्रपति विद्यादेवी भण्डारीको चाहना पनि एमालेको लागि निर्णायक हुन सक्ने भएकाले भण्डारीका केही मान्छेको नाम पनि अघि सारिएको छ । ‘सेरेमोनियल’ राष्ट्रपति भनिए पनि एमालेका हरेक निर्णयमा भण्डारीको हात रहने गरेको बताइएको छ । एमालेबाटै अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, डोरमणि पौडेल र विष्णु रिमालको पनि नाम अघि सारिएको छ । एमालेले राष्ट्रपति पाएको खण्डमा ओली र भण्डारीले नै चाहेको मान्छे राष्ट्रपतिको उम्मेदवार हुने निश्चित छ ।

प्रधानमन्त्री प्रचण्डले नेकपा (माओवादी केन्द्र) को तर्फबाट कसैको नाम पनि अघि बढाएका छैनन् । प्रचण्डले अरु नेताभन्दा पनि ओलीको चित्त बुझाउनुपर्ने बाध्यता छ । एमालेको प्रमुख समर्थनमा नै प्रचण्ड प्रधानमन्त्री भएकाले पनि ओलीको प्रत्येक निर्णय प्रचण्डका लागि स्विकार्य हुनुपर्ने अवस्था छ । प्रचण्डले वावुराम भट्टराइलाई राष्ट्रपति बनाउने पनि चर्चा गरेका छन् । समाजवादी जनता पार्टीका अध्यक्ष भट्टराइले आफूले यसअघि जितेको क्षेत्र गोरखा २ प्रचण्डलाई छोडिदिएर गुन लगाएका छन् त्यसो त गोरखा छोडेबापत वावुरामले छोरी मानुषी यमीलाई काठमाडौं ७ बाट उम्मेदवार पनि बनाए ।

प्रचण्डले गोरखा २ बाट भारी मतान्तरले निर्वाचन जिते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्ड उठ्ने ठाउँबाट नै उम्मेदवारी दिने भनेको र नेपाली कांग्रेसले सधैं प्रचण्डको लागि क्षेत्र छोड्न नसक्ने भनेपछि प्रचण्ड विकल्प खोज्दै गोरखा गएका थिए । वावुराम र प्रचण्ड माओवादीले सञ्चालन गरेको जनयुद्धका मुख्य कमाण्डर हुन् । केही वर्षअघि वावुरामले माओवादी छोडेर नयाँ राजनीतिक यात्रा तय गरेका थिए तर वावुरामले यसपटकको निर्वाचनमा आफूले उठाएका उम्मेदवारलाई नेकपा (माओवादी केन्द्र) को तर्फबाट त्यही चुनाव चिन्हमा उम्मेदवार उठाए । वावुराम अर्को पार्टीको अध्यक्ष हुन् ।

राष्ट्रपति कसलाई बनाउने भन्ने विषयमा प्रचण्ड खुलेर बोलेका छैनन् । प्रचण्ड कांग्रेसलाई पनि सँगै लिएर जान सके आफ्नो सरकार टिक्छ भन्ने दाउमा छन् तर ओली कांग्रेसलाई राष्ट्रपति दिन मानिरहेका छैनन् । एमालेलाई वा कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवार बनाएर जिताए आफ्नो सरकार टिक्छ भन्ने दाउमा प्रचण्ड छन् । एमाले र कांग्रेसमध्ये एक दलको राष्ट्रपति भए प्रचण्डलाई पनि ढुक्क हुने छ त्यसको तुलनामा वावुरामबाट सत्ता टिकाउनका लागि कुनै फाइदा हुने छैन । एमालेको तर्फबाट देवराज घिमिरे सभामुख भइसकेकाले फेरि राष्ट्रपति पनि एमालेलाई नै दिने पक्षमा प्रचण्ड नभएको माओवादीका नेताहरुले बताउँदै आएका छन् । एउटै पार्टीबाट राष्ट्रपति र सभामुख भए भोलिको दिनमा संसदीय प्रक्रियामा अप्ठ्यारो पर्न सक्ने प्रचण्डले बुझेका छन् ।

ओलीले बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा कांग्रेस गृह मन्त्रालय त के राज्यमन्त्री पाए पनि सरकारमा आउने भन्दै टिप्पणी गरेका छन् । राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट हुने अनुमान लगाइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू