Ads

अर्थतन्त्रमा केही गम्भीर समस्या देखिएको छ, त्यसैले तेस्रो कार्यकालको जिम्मेवारी सम्हाले : प्रधानमन्त्री


सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामा सुधार गरेरमात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् ।

शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ५, चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले नेपालको अर्थतन्त्रमा केही गम्भीर समस्या रहेकाले आफूले तेस्रो कार्यकालको जिम्मेवारी सम्हालेको बताए ।

‘मन्त्रिपरिषदको पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको छु निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट गरेको छु । बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको छ । अर्थतन्त्रमा सुधार आउने आधारहरू देखिएका छन् । अर्थतन्त्रले क्रमशः विकासको गति लिनेछ’, उनले भने ।

उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदा केही असाधारण परिस्थिति देखिएकाले निकै ठूलो जिम्मेवारी र चुनौती रहेको बताए । विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्न नसकिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘शिक्षा क्षेत्रमा ठीक ढंगले लगानी गरेरमात्र विकास र समृद्धिको जग बसाल्न सकिन्छ । समतामूलक समाज निर्माणको आधार शिक्षा नै हो । शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ । तसर्थ शिक्षा नै महत्वपूर्ण क्षेत्र हो ।’

 

Ads

सम्बन्धित पोष्टहरू