काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकअघि महासचिव देव गुरुङ पत्रकारसँग आक्रोशितरूपमा पेश भएका छन् । पत्रकारले पुस १० को सहमतिको प्रसंग उठाएपछि उनी नराम्ररी जंगिए ।
‘पार्टी विशेषलाई राष्ट्रपति भन्ने हुन्छ कतै ? संविधानमा त्यस्तो भावना छ ? संविधानमा हुँदै नभएको कुरा गर्ने ?’ उनले पत्रकारलाई प्रतिपश्न गरे ।
तर, १० पुसमा एमालेसँग सहमति गर्नुभएको थियो नि भन्न पत्रकारको प्रश्नमा उनले त्यसलाई नकारे । उनले एमालेले राष्ट्रपति आफ्नो हुनुपर्ने प्रस्ताव मात्रै गरेको जिकिर गरे ।
‘कुनै दलले प्रस्ताव राख्न पाउँदैन भन्ने हुन्छ ? प्रस्ताव राख्ने एउटा पाटो भो । दल विशेषलाई बनाउने अर्को कुरा हो ? संविधानमा दल विशेषलाई बनाउने परिकल्पना छ ? संविधानको भावनाअनुसार जानुपर्छ ’, गुरुङले भने ।
राष्ट्रियता, गणतन्त्र, संघीयताको पक्षमा अभिमत प्रकट गर्ने तथा आफूलाई सबैको साझा बनाउन सक्नेलाई राष्ट्रपति बनाउनुपर्ने उनले बताए ।
‘दलको क्यान्डिडेट राष्ट्रपति बनाउने व्यवस्था छ ? संविधानमा दलको राष्ट्रपति बनाउने व्यवस्था कहाँ छ ? हावादारी कुरा गर्ने ?’
त्यसोभए यो गठबन्धन भत्किन्छ अब ? भन्ने पत्रकारको प्रश्नमा उनी थप जंगिए ।
‘सत्ता गठबन्धनसँग जोडिएको विषय हो र यो ? दलविशेषको मामला हो र ? सत्तापक्ष र विपक्षको मामला हो र ? हावादारी कुरा गर्ने ? कटुवाल प्रकरण के भएको थियो ? किन उल्टाए राष्ट्रपतिले ? किन दुईपटक भंग गरेको ? दलको मान्यताका कारण भंग गरेको होइन ? सरकारबाट सिफारिस गरेको किन तुहाए ?’, गुरुङले प्रश्नैप्रश्न तेर्स्याए ।
प्रतिक्रिया दिनुहोस्