Ads

राष्ट्रपति निर्वाचन बारे छलफल गर्न राप्रपाले बोलायो बैठक


काठमाडौँ । राष्ट्रपति निर्वाचनमा भाग लिने कि बहिष्कार गर्ने भन्ने विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समितिबाट निर्णय लिने भएको छ । सरकारमा पनि सहभागी राप्रपाका नेताहरूले राष्ट्रपति निर्वाचनमा भाग लिनुपर्ने र बहिष्कार गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

उपप्रधानमन्त्रीसहित सरकारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू सहभागी छन् । राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयमा निर्क्यौल नभइसकेको बताएका छन् । ’राष्ट्रपति निर्वाचनबारे पार्टीले अहिलेसम्म केही धारणा बनाइसकेको छैन ।

राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्ने केही भएको छैन । कार्यसम्पादन समिति बैठकपछि मात्रै निर्क्यौल हुन्छ,’ उनले भने, ’राष्ट्रपति निर्वाचनमा यसै गर्ने भन्ने भइसकेको छैन ।’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका राप्रपा नेता ध्रुवबहादुर प्रधानले भने राष्ट्रपति निर्वाचनमा पार्टी सहभागी हुने बताए । ’सहभागी नहुने भन्ने धारणा छैन । एकदुई जना साथीहरूले राष्ट्रपति निर्वाचनमा सहभागी नहुनुपर्ने कुरा निकालेका छन्,’ उनले भने, ’राष्ट्रपति निर्वाचनमा सहभागी भएरै जान्छौं । संसदीय प्रक्रियाभन्दा बाहिर रहने कुरा त भएन नि !’

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन तथा समसामयिक राजनीतिका विषयमा छलफल गर्नका लागि पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू