Ads

नेपाल शिक्षक संघ लमजुङको अध्यक्षमा सूर्यबहादुर केसी


लमजुङ । शिक्षक संघको नवौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा विद्याज्योति माध्यमिक विद्यालय, सुन्दरबजार, खहरेका प्रधानाध्यापक सूर्यबहादुर केसी भारी मतान्तरले विजयी भएका छन् । अध्यक्ष पदका प्रत्यासी भैरवकाली माध्यमिक विद्यालय, मध्यनेपाल, रम्घाका प्रधानाध्यापक हरिश्चन्द्र लम्सालले २ सय ८३ मत प्राप्त गर्दा सूर्यबहादुर केसीले ४ सय ४९ मत प्राप्त गरी विजयी भएका हुन् ।

यसैगरी महिला उपाध्यक्ष पदमा सीता बरालले ३ सय ५९ मत प्राप्त विजयी भइन् भने अर्का प्रत्यासी तुलसी गुरुङले ३ सय ३३ मत प्राप्त गरिन् । यसैगरी उपाध्यक्ष पदमा शैलपुत्री माध्यमिक विद्यालय, राईनासका प्रधानाध्यापक दिनेश चिलुवालले ३ सय ७३ मत प्राप्त गरेर विजयी भए भने उपाध्यक्ष पदका प्रत्यासी रणबहादुर गुरुङले ३ सय ४३ मत प्राप्त गरेका थिए ।

यसैगरी सचिव पदमा आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक राजिव पण्डितले ४ सय ९५ मत प्राप्त गरी विजयी भए भने उनका प्रत्यासी राजु राउतले २ सय २८ मत प्राप्त गरे । यसैगरी अर्थ सचिवमा प्रदिपराज घिमिरेले ३ सय ८५ मत प्राप्त गरि विजयी भए भने अर्का प्रत्यासी दिनेश गुरुङले ३ सय १८ मत प्राप्त गरेका छन् । यस्तै सहसचिव पदमा भरत घिमिरेले ४ सय १ मत प्राप्त गरि विजयी भए भने प्रत्यासी बेल बहादुर थापाले २ सय ९४ मत मात्र प्राप्त गरे ।

आईतबार विहान सम्पन्न मत परिणाम अनुसार सदस्यहरुमा गणेश अधिकारीले ४ सय ८५ मत, बद्रि प्रसाद पौडेलले ३ सय ६२ मत, सन्तोष भट्टराईले ४ सय ४० मत, हरिचन्द्र बरालले ३ सय ९० मत प्राप्त गरि विजयी भएका छन् । सदस्य पदका प्रत्यासी देवेन्द्र न्यौपानेले ३ सय २४ मत, बद्रिनाथ खनालले २ सय ९२ मत र हरिराज रेग्मीले २ सय ६३ मत प्राप्त गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष सूर्यबहादुर केसी यस अघि उपाध्यक्ष पदमा रहेर कुशल नेतृत्व गरिसकेका व्यक्ति हुन् । नेपाल शिक्षक संघको मर्म र भावनाअनुरुप शिक्षक र शिक्षा क्षेत्रको विकासको लागि काम गर्न आफू सधैं तल्लिन रहेको निर्वाचित अध्यक्ष केसीले बताउँदै आएका थिए ।

स्पष्ट रुपमा दुई प्यानलमा विभाजन भई भएको निर्वाचनमा हरिश्चन्द्र लम्सालको प्यानलबाट चुनाव लडेका उपाध्यक्ष दिनेश चिलुवाल र सदस्य सन्तोष भट्टराईले मात्र चुनावी परिणाम हात पारेका छन् । यसैगरी प्रदेश प्रतिनिधिमा दिपक खनिया, अनिल अधिकारी, बुद्धराज सेढाई, रविन्द्रनाथ घिमिरे र रमेश अधिकारी निर्वाचित भएका छन् । यसैगरी संघीय प्रतिनिधिमा शिवराज अधिकारी, विष्णुहरि वास्तोला, सोमराज चिलुवाल र रमाकान्त अधिकारी विजयी भएका छन् ।

शिक्षक संघको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, अर्थ सचिव, सहसचिव, महिला सहसचिव, महिला अर्थ सहसचिव १/१ जना उम्मेदवार हुनेछन् भने समावेशी तर्फबाट २ जना सहसचिव, ३ जना महिला सहित ७ जना सदस्य, २ महिला सहित ६ जना संघीय प्रतिनिधि र २ महिला सहित ७ जना प्रदेश प्रतिनिधि हुने व्यवस्था छ । कार्यसमिति र संघीय तथा प्रदेश प्रतिनिधिमा निर्वाचित भएका बाहेक अन्य पद निर्विरोध भएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू