काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सपथग्रहण गरेसँगै आज राष्ट्रपति कार्यालयको वेबसाइटमा उनको तस्वीर राखियो । तर, यो तस्वीरमा पौडेलको रुपरंग वास्तविक छैन ।
अनुहारको कोठी र चाउरीसमेत हटाएर चिल्लो अनुहारको तस्वीर राखिएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा हुन थालेको छ । करिब ८० वर्षको उमेरका पौडेल यो तस्वीरमा ६० वर्षभन्दा कमका देखिन्छन् । तर, यो पौडेलको पुरानो तस्वीर भने होइन । तस्वीरमा छेडछाड गरिएको स्पष्टै देखिन्छ ।
पौडेलका दुवै गालामा कालो कोठी छन्, जसमध्ये एउटा गालाको कोठी टाढैबाट देखिन्छ । तर, यो तस्वीरमा दुवै कोठी गायब छन् । अनुहारको वर्ण वास्तविकभन्दा निकै गोरो बनाइएको छ । आखिर राष्ट्रपतिको तस्वीरमा यसरी सम्पादन कसले र किन ग¥यो ?
राष्ट्रपति कार्यालयको वेबसाइट भने गृह मन्त्रालयले सञ्चालन गर्ने गर्छ । शीतलनिवास निकट एक स्रोतले नयाँ राष्ट्रपतिको चाकडीका लागि गृह मन्त्रालयको कर्मचारीतन्त्रले यो तरिका अपनाएको हुन सक्ने बतायो ।
स्रोतका अनुसार यसअघि विद्या भण्डारी पहिलोपटक राष्ट्रपति बन्दा पनि उनको सम्पादन गरिएको तस्वीर राख्न खोजिएको थियो । एउटा सम्पादन गरिएको र अर्को नगरिएको तस्वीर मन्त्राललयका कर्मचारीले राष्ट्रपति स्वयमलाई छान्न लगाएका थिए । भण्डारीले भने मौलिक तस्वीर नै राख्न निर्देशन दिएकी थिइन् । त्यसै अनुसार उनको सेतो सारी र माला लगाएको तस्वीर वेवसाइटमा राखियो भने विभिन्न सरकारी कार्यालयमा पनि यही तस्वीर प्रयोगमा ल्याइएको थियो ।
अहिले पनि राष्ट्रपति वा परिवारका सदस्यलाई रोज्न लगाएर नै तस्वीर राखिएको हुन सक्ने स्रोतको दाबी छ । ‘उहाँहरुलाई नसोधी यसरी सम्पादित तस्वीर राखिँदैन । अघिल्ला राष्ट्रपतिले स्वीकृति दिनुभएन, यसपालि स्वीकृति मिल्यो होला । यो बकाइदा कर्मचारीतन्त्रको मुर्खतापूर्ण चाकडी हो,’ स्रोतले भन्यो ।
राष्ट्रपति पौडेलको यो तस्वीर आजै खिचिएको स्पष्ट देखिन्छ । आज सपथग्रहणमा पौडेलले लगाएको पोशाक तस्वीरमा एउटै छ । तर, अनुहारको रुपरंग भने फरक छ ।
राष्ट्रपति पौडेलको पुरानो सचिवालयका एक पत्रकारले आफूलाई यो तस्वीरबारे जानकारी नरहेको बताए । उनले भने, ‘मैले पनि सञ्चारमाध्यममा हेरेको हुँ । तस्वीर कसले उपलब्ध गराएको हो थाहा भएन । हामीसँग मागिएको थिएन ।’
फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले सोमबार शीतल निवासमा आयोजित विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ लिएका थिए । सोमबार नै उनले पदभार ग्रहण गरेका थिए । पौडेल अब ५ वर्षसम्म मुलुकको राष्ट्रपतिको जिम्मेवारीमा रहनेछन् ।
प्रतिक्रिया दिनुहोस्