बुटवल । । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासका मुद्दामा राजनीति नगर्न सत्तारुढ दलहरुलाई आग्रह गरेका छन् ।
बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै पौडेलले विकासका कामले कुनै दल विशेषलाई भन्दा पनि सबैलाई फाइदा हुने बुझेर अगाडि बढ्न आग्रह गरेका हुन् ।
रुपन्देहीमा सुरु भएका केही विशेष योजना रोक्नेगरी भएका आन्दोलनप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् । तिनाउ–दानव करिडोर क्षेत्रमा सत्तारुढ दलहरुकै अगुवाइमा योजनै प्रभावित बन्ने गरी भएका आन्दोलनले आफू चिन्तित भएको उनको भनाइ थियो ।
पौडेलले रुपन्देहीमा बन्दै गरेको विमानस्थल, सबैतिरका ६ लेन सडक, अन्तराष्ट्रिय प्रदर्शनी स्थल, पोखरा–नारायणगढ जाने तथा पश्चिम जाने सडकको स्तरोउन्नति, खानेपानी आयोजना, सिद्धबाबा सुरुङ मार्ग, नुवाकोट र वसन्तरपुरका दुई केबलकारका आयोजनाले यस क्षेत्रलाई नमूना बनाउने बताए ।
पौडेलले भने ‘विकासप्रति हाम्रो दृष्टिकोण रुपनदेहीवासीले बुझेका छन्, केही योजनामा निर्माणमा विलम्ब भएको छ, तर कानूनी र प्रशासनिक जटिलता समाधान गरेर बजेटको प्रबन्ध भएकाले अब ढिलाइ गर्ने छुट कसैलाई छैन । ’
कार्यक्रममा एमाले संगठन बिभागका सदस्य,पूर्वमन्त्री तथा प्रदेश सांसद लिला गिरीले आर्थिक विकासको केन्द्र बनेको रुपन्देहीमा बुटवल उपमहानगरका नमूना योजनाले पहिचान थपेको बताए । उनले अब दीर्घकालीन विकासका योजनालाई उपमहानगरले व्यवस्थित रुपमा अगाडि बढाउन पर्ने बताए ।
पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले अब रुपन्देही आर्थिक विकासको केन्द्रका रुपमा अगाडि बढाउनुपर्ने बताए । अहिलेको सरकारले यसअघिको सरकारले संचालन गरेका विशेष योजनाको बजेट काट्ने, योजनाबाटै हटाउनेजस्तो गलत राजनीतिक संस्कारको अभ्यास गरेको बताए ।
उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालको अन्तिम समयमा नयाँ आधुनिक भवनको निर्माण गरेको बताए । उनले महानगरीय अवधारणाका साथ बुटवलले नयाँ भवन निर्माण गरेको बताए । उक्त भवनको शिलान्यास पनि नेता पौडेलले नै गरेका हुन् ।
भवनमा अन्डरग्राउण्ड मोटरसाइकल तथा कार पार्किङ, बाहिरी पार्किङ तथा दुई अलग–अलग स्थानमा लिफ्ट र दुईवटा सिँढीको प्रवन्ध रहेको छ भने मुल गेटलाई जितगढी किल्लाको झल्को दिने गरी निर्माण भएको छ ।
चार तलाको अत्याधुनिक उक्त भवनको अनुमानित निर्माण लागत ५४ करोड ७८ लाख ४५ हजार ३८१ रहेको थियो । निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले रु ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ ८४ पैसामा २०७८ असारमा सक्ने गरी गत २०७७ असार ६ गते ठेक्का सम्झौता गरेका थिए तर कोभिडका कारण समयमा निर्माण कार्य नसकिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्