काठमाडौँ, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरु खराब तर कार्यकर्ताहरु असल रहेको बताए ।
पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत तिलोत्तमा नगरपालिकामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले दुबै पार्टीका कार्यकर्ताहरुलाई पार्टीमा भित्राउनुपर्ने तर्क गरे ।
‘माओवादी केन्द्र र नेकपा एस भन्ने पार्टीका नेताहरु कम्युनिष्टका नाममा कांग्रेसको पछि लागेर कम्युनिष्ट शक्तिलाई सिध्याउन लागेका छन् ’, ओलीले भने, ‘तर कार्यकर्ताहरु असल छन्, उनीहरुलाई नेतृत्वको भ्रमबाट मुक्त गरेर एमालेमा ल्याई विना भेदभाव उचित जिम्मेवारी दिएर पार्टीलाई बलियो बनाउनुपर्छ ।’
मिसन ग्रास रुटको मिसन अर्को चुनावसम्म वडा तहसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत पु¥याइ एकल वहुमत ल्याउने उनले बताए ।
‘अब आउने चुनावमा वडादेखि संघसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत अर्थात बहुमत आउने गरी एकतावद्ध भएर लाग्नुपर्छ’, ओलीले भने, ‘अब एमालेमा गुटबन्दी र गैर एमाले गतिविधि स्वीकार्य हुँदैनन् ।’
१० दलको गठबन्धन सलह भन्दा बढ्ता हानिकारक भएको आरोप लगाउँदै ओलीले यो सरकार रहेसम्म अर्थतन्त्र सही ट्रयाकमा नआउने दावी गरे ।
प्रतिक्रिया दिनुहोस्