काठमाडौं । संसदमा चार सिट रहेको जनमत पार्टी सरकारबाट बाहिरिएको छ । माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिदै आएको जनमत पार्टी शुक्रबार बाहिरिएको हो । सो पार्टीका एक मात्र मन्त्री अब्दुल खानले आज प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाका छन् ।
पार्टीले दुईवटा मन्त्रालय पाउनुपर्ने वा एउटै मात्र पाए उद्योग मन्त्रालय चाहिने माग गरेको थियो । तर, सो माग पूरा नभएको भन्दै अब्दुलले राजीनामा दिएका हुन् । तर, जनमत पार्टी सरकारबाट बाहरिनुमा यो मात्र कारण होइन ।
‘उपेन्द्रलाई काखी च्यापेर हामीलाई पेल्ने रणनीति स्पष्ट देखिएपछि सरकार छोडेका हौं, तत्काल फर्किने सम्भावना छैन,’ स्रोतले भन्यो । राउत र यादवबीच जुँगाको लडाईं छ । सप्तरीमा सिके राउतले उपेन्द्रलाई गत संसदीय चुनावमा विशाल अन्तरले हराएका थिए ।
स्रोतका अनुसार बारा २ को उपचुनावमा गठबन्धनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई साथ दिने भएपछि जनमतका अध्यक्ष सिके राउत तीव्ररुपमा असन्तुष्ट थिए । यही आक्रोशमा हिजो उनी गठबन्धनको बैठक नै छोडेर हिँडेको स्रोतले बतायो ।
जनमत पार्टी मधेस प्रदेशको सरकारमा सहभागी छ, जहाँ जसपाका सरोज यादव मुख्यमन्त्री छन् । संघीय सरकारसँगै प्रदेश सरकारबाट पनि जसपा अलग हुन सक्ने सम्भावना रहेको बताइन्छ ।
प्रतिक्रिया दिनुहोस्