काठमाडौं । अडिओ प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले दिएको समयभित्र लिखित स्पष्टीकरण बुझाएनन् । उनले आज दिउँसो ३ बजेसम्ममा स्पष्टीकरण दिनुपर्नेमा अहिलेसम्म दिएको स्रोतले जनाएको छ ।
व्यवसायी दुर्गा प्रसाईंसँगको फोन सम्वादका विषय रास्वपाको अनुशासन समितिले २४ घन्टाको समय दिएर हिजो तीन बजे श्रेष्ठलाई स्पष्टीकरण सोधेको थियो । तोकिएको समयमा स्पष्टीकरण नदिएका थापाले समितिका संयोजक भरत देवकोटालाई फोन गरेका थिए । उनले आफू वकिलहरूसँग रहेको भन्दै स्पष्टीकरणको जवाफ दिन थप समय मागेको देवकोटाले बताए ।
देवकोटासँगको मौखिक कुराकानीमा श्रेष्ठले आफूमाथि लागेको आरोप स्वीकार गरेका छैनन् । आफ्नो आवाजलाई सम्पादन गरेर अडिओ बनाइएको र आफूलाई अन्यायमा परेको उनले दाबी गर्दैआएका छन् ।
श्रेष्ठनिकट स्रोतका अनुसार उनी पार्टीको सदस्यबाट राजीनामा दिने तयारीमा छन् । स्पष्टीकरण पत्रसहित राजीनामा पनि आउन सक्ने सम्भावना रहेको स्रोतको दाबी छ । उनीसँग यस विषयमा बुझ्न पटक–पटक फोन सम्पर्क प्रयास गर्दा सफल हुन सकेन ।
छानबिनबाट आफू निर्दोष ठहरिन सक्ने सम्भावना कमजोर देखेर नै राजीनामा दिने मनस्थितिमा पुगेको बताइएको छ । यद्यपि, अन्तिम निर्णय लिइसकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्