काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनका सवै सिटमा पाँच दलीय गठबन्धन विजयी हुने दाबी गरेका छन् ।
केन्द्रीय पार्टी कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले उक्त कुरा बताएका हुन् । राष्ट्रियसभाको निर्वाचनका लागि पाँच दलीय गठबन्धन मिलेर उम्मेदवार खडा गरेका र सबैले जित्ने बताए । उनले आफ्नो दलले पाँच सिट पाएको पनि बताए ।
भागबण्डामा नेपाली कांग्रेसले ६, नेकपा (माओवादी) केन्द्र पाँच, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट एक सिट पाएको छ। नेपालले भने, ‘हाम्रा १८ वटा उम्मेदवारले नै जित्ने छन् । गठबन्धनका १८ वटा उम्मेदवार विजयी हुनेछन् र त्यसले देशमा तरङ्ग पैदा गर्नेछ।’
आर्थिक मितव्ययिताका लागि तीन तहको चुनाव एकैपटक गर्नु पर्ने बताए । एउटा तहको मात्रै चुनाव गराउँदा झण्डै पाँच अर्ब खर्च हुने र गत निर्वाचन जसरी पाँच चरणमा भयो झण्डै २५ अर्ब खर्च हुने उनले बताए।
स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनको विषयमा बहस भइरहेको नेपालले बताए । संविधान सर्वोपरी राखेर कानूनअनुसार नै चुनाव हुनुपर्नेमा उनको जोड छ। नेपालले भने, ‘एकैपटकमा तीन ओटै चुनाव गराउन सक्दा त्यो राम्रो हुन्छ।’
विद्रोहका चेतका साथ कम्युनिष्ट आन्दोलन अघि बढाउन पार्टी गठन भएको अध्यक्ष नेपालले बताए। पार्टी जिल्ला हुँदै पालिका र वडा कमिटीसम्म बिस्तार भइरहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्