Ads

कांग्रेस पदाधिकारी बैठक : देउवाको कार्यशैलीप्रति नेताहहरुको असन्तुष्टि


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर नेताहरुले प्रश्न उठाएका छन् ।

बुधबार बसेको पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियारले सभापति देउवा विधानसम्मत तरिकाले नचलेको भन्दै आलोचना गरेका हुन् । केन्द्रीय समितिले अझै पूर्णता नपाएको, विभागहरुको गठन नगरेको, भ्रातृ संस्थालाई पूर्णता नदिएको लगायतका विषय उठाएर नेताहरुले देउवाको आलोचना गरेका हुन् ।

विधान अनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुनुपर्छ । तर महाधिवेशन सकिएको डेढ वर्ष बितिसक्दा पनि सभापति देउवाले १३ जना केन्द्रीय सदस्य मनोनित गरेका छैनन् । महाधिवेशन सकिएको ६ महिनाभित्र गठन हुनुपर्ने विभागको प्रमुख समेत हालसम्म तोकिएका छैनन् । ‘केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । डेढ वर्ष वितिसक्दा विभाग बनेको छैन,’ बैठकमा सहभागी एक नेताले भने, ‘सभापतिको ढिलासुस्तीका विषयमा कुरा उठेको हो ।’

त्यस्तै देउवाले सरकारमा मन्त्री पठाउँदा एकलौटी गरेको भन्दै पार्टीमा असन्तुष्टि समेत जनाएका छन् । सत्ता गठबन्धनमा आठ मन्त्रालय पाउँदा देउवाले आफू निकटका ६ जना मन्त्री बनाएका छन् ।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकहाँ पार्टीबाट मन्त्रीको नाम सिफारिस गर्दा कसैसँग सल्लाह नगरेको भन्दै नेताहरुले देउवाको आलोचना गरे । सभापति देउवाको कार्यशैलीको विषयमा नेताहहरुले तीव्र असन्तुष्टि पोखेको एक पदाधिकारीले बताए ।

 

Ads

सम्बन्धित पोष्टहरू