काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा कारकापमा पारेर आफ्नो पार्टीका नेताहरूको नाम लिन लगाइएको बताए । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भ्रातृ संगठनहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ’नेपालमा छानबिन कसरी हुन्छ’ भन्ने थाहा भएको बताए ।
’एउटा सञ्जालको प्रयोग र मिडियालाई प्रयोग गरेर विभिन्न कुराहरू बजारमा छरेर यसलाई स्थापित गर्न योजनाबद्ध प्रयास भएर कारकापमा मानिसको नाम उच्चारण गर्न लगाएर एमालेलाई कसैले मुछ्न खोज्छ वा हिलो छ्याप्न खोज्छ भने एमालेलाई सह्य हुँदैन,’ ओलीले भने, ’आरोप लगाइदिएपछि पुग्यो । हामीले छानबिन देखेका छौं ? थुप्रै कुरा भोगेर आएका छौं । त्यसै कारण परिवर्तन गर्न लागेका छौं ।’
कार्यक्रममा एमाले अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले संलग्न नभएको दाबी गरे । ’नक्कली भुटानी शरणार्थी बनाउने विषयमा एकमुष्ट रूपमा भन्न चाहान्छु एमाले संलग्न थिएन, छैन र हुने छैन । भ्रष्टाचारको विषयमा एमाले संलग्न हुँदैन ।
यदि कसैले एमालेभित्र रहेर यसको आदर्श, यसको मूल्य मान्यताविपरीत, यसको उद्देश्यलाई आघात पुग्नेगरी यस वा कुनै प्रकारको अनुचित अनौतिक वा भ्रष्ट क्रियाकलाप गर्छ भने एमाले त्यस्तालाई कारबाही गर्न आफै अग्रसर हुन्छ र अघि बढ्छ ।
प्रतिक्रिया दिनुहोस्