काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशवप्रसाद दुलालले आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएर ठगी गरेको प्रकरणमा पक्राउ परेका दुलालले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीसँगको बयानमा बज्राचार्यलाई बालुवाटारमै गई १ करोड रुपैयाँ बुझाएको बयान दिएका हुन् ।
प्रहरीले सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा दुलालले भनेका छन्, ‘‘तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले प्रधानमन्त्री क्वाटर बालुवाटारमा ऊर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत मलाई बोलाई २०७६ साल असोजमा १ करोड नगदै बुझी लिएको ।’
दुलालले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको मन्त्री क्वाटर पुल्चोकमै पुगेर ३ करोड रुपैयाँ दिएको, बादलका छोरालाई २०७६ मा १ करोड रुपैयाँ दिएको, तत्कालीन गृहसचिव प्रेमकुमार राईलाई इन्द्रजित राईमार्फत गृह मन्त्रालयका सचिवको कार्यकक्षमा २०७६ असारमा ३ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।
दुलालले आफ्नो बयानमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वसल्लाहकार डा. अजय क्रान्ति शाक्य र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका स्वकीय सचिव राजेश्वर स्थापितलाई मन्त्री क्वाटरमा १÷१ करोड रुपैयाँ दिएको पनि बयान दिएका छन् ।
प्रहरीले लिएको बयानका क्रममा सुरुमा केशवप्रसाद दुलालले इन्कारी बयान दिएका छन् । तर थप बयानका क्रममा उनले रकम दिएको बताएका छन् ।
बयान प्रतिशोधपूर्ण छ राजे: श बज्राचार्य
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले बयान प्रतिशोधपूर्ण भएको बताएका छन् । उनले दुलाललाई आफूले चिन्दै नचिनेको भन्दै बयानको विवरणमाथि नै आशंका गरे ।
‘न म केशव दुलाललाई चिन्छु, न त नक्कली भुटानी शरणार्थी बनाउने खेलसँग हाम्रो कुनै सम्बन्ध छ’, बज्राचार्यले भने, ‘किन केशवले अनावश्यक ढंगले मलाई पोल्ने काम गरेका छन् थाहा भएन । यो उनको नियत हो या राजनीतिक प्रतिशोध मैले बुझ्न सकेको छैन । यसको वस्तुनिष्ठ छानबिन आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस्