काठमाडौँ, । एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आधारहीन र गैरजिम्मेवार टिप्पणी नसच्याएसम्म बैठक चल्न नदिने बताएका छन् । ‘सदन रोक्ने हामीलाई रहर छैन । हामी प्रष्ट छौं, हाम्रो प्रयास त्यही नै हो’ नेम्वाङले भने, ‘यति गम्भीर आरोप टाउकोमा बोकेर हामी कसरी भाग लिन सक्छौं।’
जेठ १० गते प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पशुपतिनाथको जलहरीमा सुन लाउने भनेर पित्तल लाइदिएको आरोप लगाएका थिए । त्यसको विरोध जनाउदै एमाले सांसदहरुले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।
त्यसक्रममा नेम्वाङले भ्रष्टाचार भएमा कार्बाही गर्न सक्ने डाडूपन्यू लिएको सत्तारुढबाटै प्रमुख प्रतिपक्षमाथि आधारहीन आरोप लगाइएको बताए ।’मैले तीन पटक सुनेँ । सुनको जलारीको नाममा पशुपतिनाथमा पित्तलको जलारी चढाएर भ्रष्टाचार गर्ने काम गरेको छ । पार्टीको नेतामाथि यस्तो आरोप लागेको छ’, नेम्वाङले भने । उनले यो आरोप राफसाफ नभएसम्म संसदीय प्रक्रियामा सहभागी हुन नसकिने बताए।
एमाले नेताहरुले उभिएर संसद अवरोध गरिरहेकै बेला सभामुख घिमिरेले माओवादी केन्द्रका हितराज पाण्डेलाई बोल्ने समय दिएका थिए। यसपछि भने एमाले सांसदहरुले रोष्टममै गएर नाराबाजी गर्न थालेपछि सभामुख घिमिरेले २० मिनेटका लागि बैठक स्थगित गरे।
गत १० जेठको बैठकमा लेखनाथ दाहालले सुनको जलहरी भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार भएको आरोप लगाएको एमाले सांसदहरुले बैठकमा भनेका छन्।
प्रतिक्रिया दिनुहोस्