काठमाडौँ, । नेकपा (एमाले) निकटको दलितको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजमा पुनः विवाद चर्किएको छ । मुक्ति समाजका इन्चार्ज तथा नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य जितु गौतम र वर्तमान अध्यक्ष मनोहर विश्वकर्माले जिम्मेवारी बाँडफाडमा एकलौटी गरेको भन्दै विवाद चर्किएको हो ।
मुक्ति समाजको गएको वर्षको असार ४ र ५ गते काठमाडौंमा सम्पन्न दोस्रो केन्द्रीय कमिटीको बैठकमा संगठनको नेतृत्वमा भएको मनोनयन तथा कार्य विभाजनप्रति असन्तुष्टि चरम लापरवाही गरेको आरोप छ ।
एक वर्षसम्म पनि विवादलाई समाधान नगरेको भन्दै काठमाडौंमा आयोजित तेश्रो केन्द्रीय कमिटी बैठकमा असन्तुष्ट पक्षका ५० भन्दा बढी केन्द्रीय सदस्यहरुले बैठक बहिष्कार गरेका छन् ।
केन्द्रीय सचिवालय सदस्य हरि नेपालीले संगठनको नीति, विधि पद्धति भन्दा बाहिर गई मन परि ढंगले संगठन चलाएको आरोव लगाएका छन् । जिम्मेवारी दिदाँ नेतृत्वको चाकडी गरेकालाई मात्र जिम्मेवारी दिएकोले यो बैठक बहिष्कार गरिएको उनको भनाई छ ।
त्यसैगरि केन्द्रीय सचिवालय सदस्य राजेश नेपालीले भने मुलतः दलित आन्दोलनलाई राजनीतिक मुद्धा केन्द्रित नगरी सामान्य कर्मकाण्डी तवरले संगठन चलाउन खोजेकोले बैठक बहिष्कार गरेका बताए ।
२०७८ चैत्रमा काठमाडौंमा भएको मुक्ति समाजको छैठौं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष मनोहर विश्वकर्मा पौडेल चयन भएका थिए । त्यसैगरी पार्टीले मुक्ति समाजको इन्चार्जको रुपमा एमालेका पोलिटब्युरो सदस्य जितु गौतमलाई पठाएको थियो ।
अध्यक्ष र इन्चार्जले संगठनलाई गुमराहमा राखी निश्चित व्यक्तिका स्वार्थ अनुकूल संचालन गरे, संगठनमा आएको विवादलाई सम्बोधन नगरी बल जफ्ती ढंगले बैठक गरेको, जातिय विभेदका घटनाहरु घट्दा पनि संगठनले विज्ञप्तीसमेत निकाल्न नसक्ने अवस्थामा संगठनलाई पुराएकोले देश भरिका ५० भन्दा बढी केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेको केन्द्रीय सदस्य रामलाल राजवंशी विकेले जानकारी दिनुभयो ।
संगठनलाई एजेण्डा विहिन तरिकाले चलाउन खोजेकोेले हाम्रो असहमतीसहित बैठक बहिष्कार गरेका छौ, केन्द्रीय सदस्य कल्पना सुनारले बताईन् ।
एमालेका केन्द्रीय सदस्य तथा मुक्ति समाजका सह–इन्चार्ज बोमबहादुर विश्वकर्माले केही केन्द्रीय कमिटीका सदस्यहरुको असन्तुष्टि रहेको तर बैठक सामान्य रुपमा नै चलेको जानकारी दिए ।
मुक्ति समाजका केन्द्रीय सचिव नरेश विकले मुक्ति समाजमा कुनै विवाद नभएको र कसैले पनि बैठक बहिष्कार नगरेको बताए ।
यदि नेतृत्व समयमा नै नसच्चिए संगठनको समानान्तर गतिविधि अगाडि बढाउने एक केन्द्रीय सदस्यले बताए ।
प्रतिक्रिया दिनुहोस्