Ads

सुदूरपश्चिम प्रदेशसभाकाे दोस्रो अधिवेशन सुरु


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन (बजेट अधिवेशन) प्रदेशसभा भवन धनगढीमा शनिबार सुरु भएको छ।  बैठकको प्रारम्भमा दिइएको विशेष समयमा सत्तापक्ष नेपाली कांग्रेसका विक्रमसिंह धामीले प्रदेशलाई नमूना प्रदेश बनाउन यसका आधार खोजेर सामूहिकरूपमा अघि बढ्नुपर्ने बताए। देवभूमिको रूपमा चिनिने सुदूरपश्चिम प्रदेशका तीर्थस्थललाई उजार गर्न सकिएमा धार्मिक पर्यटन प्रवर्द्धन भई प्रदेशको समृद्धिमा योगदान पुग्ने उनले बताए।

सत्तापक्ष नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओलीले विगत पाँच वर्षमा प्रदेश सरकार र प्रदेशसभाले गरेका कामको स्वामित्व ग्रहण गर्दै थप विकासका आधार तय गरेर अघि बढ्नुपर्ने उल्लेख गरे । प्रदेशको विकासका लागि स्पष्ट दृष्टिकोणसहितको कार्यक्रम र योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बजेट अधिवेशनले नागरिकलाई प्रदेशको विकास समृद्धि र सुखी नेपाली बनाउन अनुभूति दिलाउन सार्थक हुने विश्वास व्यक्त गरे। उनले सङ्घीयता, लोकतन्त्र र समावेशी व्यवस्थालाई खल्बल्याउन देशी विदेशी शक्तिले षड्यन्त्र गरिरहेको र प्रदेशको औचित्यमाथि प्रश्न उठाउने गरिएकोले संसद्को भूमिकालाई थप प्रखर बनाउन सक्नुपर्ने आवश्यकता औँल्याए।

नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले बजेटमार्फत जनताको समस्या समाधानमा ध्यान दिन जरुरी रहेको बताए। उनले कृषि उत्पादन र आधुनिकीकरण, गुणस्तरीय शिक्षालाई बजेट कार्यक्रममा प्राथमिकता दिएर समेटिनुपर्ने बताए। नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावलले प्रदेशसभाको पहिलो कार्यकालले सङ्घीयतालाई संस्थागत गर्ने काममा प्रदेशसभाले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै दोस्रो कार्यकालले प्रदेशको समृद्धिको बाटोलाई सुनिश्चित गर्ने बेला आएको बताए। उनले कृषि, पर्यटन र ऊर्जालाई प्राथमिकता दिएर अघि बढ्न सकेमा स्वरोजगारका अवसर सिर्जना भई समृद्धिमा टेवा पुग्ने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का खेमादेवी विष्टले कैलालीको चुरे गाउँपालिकामा विगतका वर्षमा भएको बाढीको समस्याका कारण विस्थापित भएका परिवारको गाँस, बास र कपासको व्यवस्था गर्न ध्यानाकर्षण गराए। स्वतन्त्र प्रदेशसभा सदस्य ताराप्रसाद जोशीले मङ्सिरको चुनावपछि सरकारका कारण तीन महिनाको समय खेर फालिएको भन्दै अबको अधिवेशनमा नियमितरूपमा संसद् बैठक सञ्चालन गरेर समय खेर नफाल्ने गरी काम गर्नेतर्फ ध्यान दिन जरुरी रहेको बताए

बैठकमा आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले सुदूरपश्मि प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गरे। मन्त्री शाहीले विनियोजन विधेयक, २०८० मा समावेश हुने प्रदेश सरकारको बजेट कार्यक्रमको सिद्धान्त र आयोजना वा विवरणसम्बन्धी प्रस्ताव प्रस्तुत गरे। यसअघि बैठकको कारबाही प्रारम्भ गर्दै सभामुख भीमबहादुर भण्डारीले दोस्रो अधिवेशन आह्वानसम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्तको व्यहोरा जानकारी गराएका थिए।

Ads

सम्बन्धित पोष्टहरू