काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले बजेट निर्माणका क्रममा करका दर परिवर्तन गर्ने क्रममा बाहिरका मान्छेको संलग्नता नरहेको बताएका छन् । प्रमुख प्रतिपक्षी एमाले सहितका दलहरूले करका दर परिवर्तन र निर्धारण गर्ने क्रममा अनधिकृत व्यक्तिहरूलाई प्रवेश गराएको भन्दै संसद्मा प्रश्न उठेको थियो । एमाले, रास्वपा र राप्रपाले संसदीय छानबिन समिति गठनको माग पनि गरेका थिए ।
पूर्वनासु रामकृष्ण श्रेष्ठलाई आफूभन्दा अगाडिकै अर्थमन्त्रीले नियुक्त गरेको महतको भनाइ थियो । ’अनुभवि, दक्ष, इमानदार भनेर परिचित व्यक्तित्व हुनुहुँदो रहेछ । उहाँको काम भनेको सम्बन्धित आधिकारीले आधिकारीक रूपमा निर्णय भएको करका दरदेखि लिएर संशोधन आदि इत्यादि जे छ, निर्णय प्रक्रियामा बसेका पदाधिकारीको आदेशमा भनेर भर्नको लागि उहाँ वर्षौंदेखि लगायतार गर्दै आउनुभएको रहेछ । त्यसै प्रयोजनको लागि मभन्दा अगाडिको अर्थमन्त्रीले नियुक्ति गर्नुभएको रहेछ,’ उनले भने । प्रकाशशरणभन्दा अगाडि अर्थमन्त्री एमाले उपाध्यक्षसमेत रहेका सांसद विष्णु पौडेल थिए ।
बजेट निर्माणका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मंगलबार अर्थमन्त्री महतले भने, ’गोप्य कोठामा आधिकारिक व्यक्तिहरूमात्रै बसेर करको दायरा के गर्ने, संशोधन गर्ने, हटाउने, बढाउने, यथावत राख्ने विषयको निर्णय गरेका छौं ।’
यसअघि नै निर्णय गरेर नियुक्त गरेर राखेका कर्मचारीलाई बजेट निर्माणका क्रममा संलग्न गराइएको पनि अर्थमन्त्री महतले बताए । उनले नियमितरूपमा कार्यरत र अर्थ मन्त्रालयले पहिलेदेखि नै नियुक्ति गरेर राखेका अनुभवी र दक्ष कर्मचारीलाई ’इन्ट्री’ गराउनका लागि काममा लगाइएको पनि बताए । पूर्वनासु श्रेष्ठको संलग्नता रहेको भन्ने आशंकाको जवाफमा महतले भने, ’पहिले पनि भइरहेको छ । त्यसैअनुसार रामकृष्ण श्रेष्ठलाई पहिलेकै निर्णयअनुसार इन्ट्री गर्न संलग्न गराइएको हो । उहाँको निर्णय प्रक्रियामा कहींकतै संलग्नता छैन । निर्णय गरेको कुरालाई इन्ट्री गर्ने उहाँको जिम्मेवारी हो ।’
पूर्वनासु रामकृष्ण श्रेष्ठलाई पनि सोहीअनुसार काममा लगाइएको र बजेट निर्माणका क्रममा कुनै पनि संलग्नता नरहेको महतले बताए । करका दर र भन्सार दर परिवर्तन गर्ने क्रममा अनधिकृत व्यक्तिहरू संलग्न गराइएको भन्ने कुराको जवाफ जहाँ पनि दिन तयार रहेको महतको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्