Ads

खोज, उद्धार र प्रभावितको व्यवस्थापनमा ध्यान दिन गृहमन्त्री श्रेष्ठको निर्देशन


काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वीनेपालका विभिन्न जिल्लामा बाढीपहिराेका कारण मानिसको मृत्यु तथा बेपत्ता भएको र ठूलो भौतिक क्षतिसमेत भएकाले बेपत्ताहरुको खोजी गरी घाइतेको उपचार, राहत र प्रभावितको उचित व्यवस्थापनमा कुनै कमी हुन नदिन निर्देशन दिएका छन् ।

पाँचथर, सङ्खुवासभालगायतका जिल्लामा भारी वर्षापछि आएको बाढी तथा पहिराका कारण ठूलो धनजनको क्षति भएपछि आइतबार आपत्कालीन बैठक बसेर उनले उक्त निर्देशन दिएका हुन् । यससँगै उनले मेची राजमार्गको हेवाखोलामा पुल बगाएकाले त्यस ठाउँमा मोडुलर ट्रष्ट ब्रिज निर्माण गरी यातायात सहज पार्न निर्देशन दिए । प्राप्त विवरणमा सो क्षेत्रमा अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन् ।

केही पुल बगाएको र झण्डै दर्जन पुलमा क्षति पुर्याएको छ । केही घरसमेत बगाएको छ । गृहमन्त्रीको निर्देशन पश्चात आइतबार इटहरीबाट पुलका सामान त्यसतर्फ पठाइ सकिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । पूर्वतयारी स्वरुप त्यहाँ पुलका सामान भण्डारण गरिएकाले पूर्वका लागि इटहरीबाट व्यवस्थापन गर्न सजिलो भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।

दुई वर्षअघि जस्तै मनसुनको सुरुआती समयमै मेलम्चीलगायत विभिन्न जिल्लामा एकैपटक हानेको र त्यही ट्रेन अहिले पनि देखिएको उनले बताए। पूर्वमा आज र भोलि फेरि पानी पर्ने देखिएकाले अझै सतर्क हुनेपर्ने अवस्था रहेको उनले बताए। उनका अनुसार सोमबार लमजुङमा पनि पानी पर्ने देखिएको अलर्ट पठाइसकेको छ।

Ads

सम्बन्धित पोष्टहरू