Ads

माओवादीले गैरसांसदलाई मन्त्री बनाउदै, पार्टी भित्र नै असन्तुष्टि


काठमाडौं । नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा गैरसांसदलाई मन्त्री बनाउन थालेको छ । माओवादीले हुम्लाका छिरिङ दमदोल लामा (कार्चेन लामा) लाई प्रदेश सरकारमा मन्त्री बनाउन लागेको हो ।

लामालाई माओवादीले गैरसांसद ६ महिने मन्त्रीका लागि सिफारिस गरिएको छ । संविधानमा सांसद नभएको व्यक्तिलाई ६ महिना मन्त्री बनाउन सकिने कानुनी प्रावधानबाट उनलाई मन्त्री बनाउन लागिएको हो । लामा फौजदारी आभियोगमा जेल सजाय भोगिसकेका व्यक्ति हुन् ।

लामालाई मन्त्री बनाउने भएपछि माओवादी केन्द्रमा नै असन्तुष्टि देखिएको छ । माओवादी केन्द्रका कर्णाली प्रदेश सभाका संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले कर्णाली प्रदेश सभाको उत्तार्धतिर यस्तै अर्को इपीसोड थपिएको बताएका छन् । लामालाई मन्त्री बनाउने पार्टी कमिटीको निर्णय प्रति असन्तुष्टि व्यक्त गदै लेखेका छन्, ‘सांसद हुदा हुदै गैर सांसदलाई मन्त्रि बनाउने अराजनैतिक कदम हो । त्यो पनि पुन एकचोटी कलाबिहीन नाटक प्रहसनको दुस्साहास गरीएको छ । हेक्का रहोस यहाँ कुन ब्यक्ती आउदै छ भनेर जनतावाट मन्त्रि बन्ने ब्यक्तीको बिरोध गर्न खोजेको पटक्कै होइन । तर राजनैतिक जिन्दगीमा अनेक पापड मोलेर जनताको मन जितेर आएका सांसदलाई धोबिको कुकुर जस्तो घरकोन घाटको जस्तो बनाउने, जनमतको धज्जी उडाउने, जेसीबीले हयाङ्गर लगाएर ताने जस्तो गरी जनतावाट एकै चोटी मन्त्रीमा ल्याउने कुराले अहीले निर्णय गर्ने महाशयहरुलाई जंगे बोल्यो बोल्यो, जंगे पछी फर्कदैन भनेर आफुलाई जंग बहादुर नैं ठाने पनि प्रकारान्तरले दुस्परीणामहरु भोग्नु पर्ने निस्चित प्राय छ ।’

लामा हुम्ला जिल्ला अदालतबाट २०५१ मंसिर २५ गते फैसला अनुसार २०४९ सालमा तिब्बतको खोचेरनाथ गुम्बाबाट मूर्ति चोरेर ल्याएको अभियोगमा दोषी ठहर भई कैद र जरिवाना भुक्तान गरिसकेका व्यक्ति हुन् । उक्त मूर्ति १२ सय वर्ष पुरानो हो ।

लामाले २०४९ कार्तिक २८ देखि २०५१ कार्तिक २७ गतेसम्म कैद सजाय भुक्त्तान गरिसकेका छन् । प्रहरीले मुद्दा दायर गरेपछि तत्कालीन जिल्ला न्यायाधीश निलकण्ठ उपाध्यायले २०५१ मंसिर २५ गते उनीसहित छिरिङ पाल्देन लामासमेतलाई दुई–दुई वर्ष कैद र ५–५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएका थिए ।

लामाले आइतबार कर्णाली प्रदेश सरकारमा मन्त्रीको शपथ लिँदै छन् ।

कर्णाली प्रदेशमा माओवादी केन्द्रका १२ सांसद् छन् । तीमध्ये पाँच जना मन्त्री बन्न बाँकी छन् । अन्य सांसदहरू यसअघिका मन्त्रिपरिषद्‌मा सहभागी भइसकेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू