Ads

बाढी पहिरोमा मृत्यु हुनेको संख्या ८ पुगे, २८ जना बेपत्ता


काठमाडौँ,। कोशी प्रदेशका पहाडी जिल्लामा आएको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । हराइरहेका २८ जनाको खोजी जारी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्वार र खोजीमा जुटेका छन् ।

पहाडी भेगमा आज पनि पानी परिरहेकाले खोजउद्धार प्रभावित भएको बताइएको छ । सशस्त्रका डीआईजी अन्जनीकुमार पोखरेलले खोजी कार्य जारी रहेको बताए । तर, दुई दिन नाघिसकेकाले उनीहरूको जीवितै उद्धार हुने सम्भावना समेत न्यून रहेको बताइएको छ ।

संखुवासभाको सुपर हेवा खोला जलविद्युत आयोजनामा कार्यरत १८ जना मजदुर हेवा खोलाको बाढीले बगाएर बेपत्ता भएका छन् । सोमबार बिहानसम्म पनि उनीहरूको अवस्था यकिन हुन सकेको छैन । पहिरोले घर पुर्दा १० र बाढीले बगाएर १८ जनासहित २८ जना बेपत्ता भएका छन् ।

पहिरोले पुरेर र खोलाले बगाएर ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ पुरुष, एक बालिका र २ महिला छन् । ताप्लेजुङमा ३, पाँचथर २, भोजपुर र संखुवासभामा एक–एक जनाको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुङ–८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका– ९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ– ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, ताप्लेजुङ फिदिङ्वा–६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ को सुरेश राई छन् । यस्तै एलिशा माझीको पनि मृत्यु भएको छ ।

शनिबार रातिदेखिको अविरल वर्षापछि हिमाली र पहाडी जिल्लामा बाढी पहिरो गएपछिको उत्पन्न परिस्थिति मूल्यांकन गरी राहत तथा उद्धारको कार्य अघि बढाइने मन्त्रालयले जनाएको छ ।

उनले भने, ‘प्रदेश मन्त्रीस्तरीय छलफलपछि राहत तथा उद्धार कार्य अघि बढाउने तयारी भएको छ ।’आइतबार कोशी प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठक बसी क्षतिको विवरण लिई राहत उद्धार शुरु गरिने निर्णय भएको निरौलाले बताए ।

 

 

Ads

सम्बन्धित पोष्टहरू