काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेका लागि न्याय खोज्दै प्राध्यपक र नागरिक समाजका सदस्यहरुले प्रदर्शन गरेका छन् । मंगलबार बिहान काठमाडौं जिल्ला अदालतअगाडि पुगेर उनीहरुले नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताबाट मरनासन्न हुने गरी कुटाई खाएका चलाउनेको पक्षमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले विश्वविद्यालयलाई राजनीतिक थलो बनाउन पाइँदैन, विश्वविद्यालयमा प्राज्ञिक मर्यादा कायम गर र अपराधको राजनीतिकरण गर्न पाइँदैन जस्ता प्लेकार्ड र ब्यानर बोकेका थिए । प्रहरीले सोमबार काठमाडौं जिल्ला अदालत परिसरभित्रैबाट चलाउनेलाई घिसार्दै पक्राउ गरेको थियो । अदालत परिसरमै अनसन बस्न तयार
भएपछि उनलाई प्रहरीले लछारपछार गर्दै समातेर लगेको थियो । चलाउनेले न्याय खोज्दा उल्टै पक्राउ गरेपछि नागरिक समाजका सदस्य र अन्य प्राध्यापकहरू आन्दोलित भएका हुन् । चलाउनेलाई २०७७ असोज २० गते सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेविसंघका कार्यकर्ताहरूले आक्रमण गरेर गम्भीर घाइते बनाएका थिए ।
त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेलाई गम्भीर घाइते हुनेगरी कुटपिट गरेको थियो । त्यसपछि आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा चलिरहेको थियो । मुद्दाको अन्तिम सुनुवाइका लागि मंगलबार पेशी तोकिएको थियो । तर त्यसअघि नै सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको उक्त मुद्दा फिर्ता लिने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्