Ads

संसद्भवन भित्रै भएको बेथितिले लज्जाबोध हुन्छ : सांसद हरि ढकाल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद्भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले संसद्सचिवालयका कर्मचारीलाई खाजा भत्ता समेत हुने तर १२ घण्टा काममा खटिने मर्यादापालकको पनि एक पैसा पनि भत्ता नहुने विभेदले आफूलाई लज्जाबोध गराएको बताएका हुन् ।

त्यसैगरी उनले संघीय संसद्सचिवालयमा छानो टाल्नका लागि आएको पैसा र डिप बोरिङका लागि निकासा भएको रकम खर्च नभएकाले त्यसको छानबिन गर्न सरकार र सम्बन्धित निकायसँग माग गरे । ‘बेथितिका कुराहरू गरिरहँदा मित्र राष्ट्र चीन सरकारले बनाई दिएको यो बिल्डिङ सहरी विकास मन्त्रालय अन्तर्गत पर्दछ ।

यो बिल्डिङको बेथितिको कुरा उठाउँदैछु । सहरी विकास मन्त्रालयका छानो टाल्नलाई बजेट आउँदो रहेछ । यो वर्ष पनि चुहिन्छ। यही कम्पाउण्डभित्र पानीको समस्या समाधान गर्न डिप बोरिङ खोलिएको रहेछ । पानी आउँदैन, भुक्तानी भएछ’, उनले भने, ‘यही भित्र संसद्सचिवालयका कर्मचारीहरूको खाजा भत्ता छ । मर्यादापालक दाजुभाई, दिदीबहिनीहरूको १२ घण्टासम्म यहाँ ड्यूटी गर्नु हुन्छ ।

उहाँहरूलाई एक रुपैयाँ पनि भत्ता छैन । यो विभेद, यही भित्र भएको विभेद, बेथिति, आँखा अगाडिको यो बेथिति हेरिरहँदा चाँही लज्जाबोध हुन्छ । म सरकार र सम्बन्धित पक्षको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । ’सांसद ढकालले संघीय संसद्भवन भित्र आफ्नो आँखा अगाडि भइरहेको बेथिति र विभेद अन्त्य हुनुपर्ने समेत बताए ।

Ads

सम्बन्धित पोष्टहरू