Ads

विपदमा जनताले प्रदेश सरकारको महसुस गरुन् : मुख्यमन्त्री पाण्डे


पाेखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपदमा जनताले प्रदेश सरकारको महसुस गर्नुपर्ने बताएका छन्। प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा उनले विपदबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न उद्धार, उपचार, राहतका सवालमा विशेष ध्यान दिन सम्बद्ध सरोकारवालालाई निर्देशन दिए ।

प्रदेश सरकारसँग भएको साधन स्रोतको अधिकतम उपयोग गरेर सुरक्षा निकायको परिचालन र स्थानीय तहसँगको सहकार्यमा काम गर्न उनले अनुरोध गरे। सरकारले विपद् व्यवस्थापनका लागि आफूलाई तयारी अवस्थामा राखेको बताउँदै मुख्यमन्त्री पाण्डेले हरेक स्थानीय तह, सङ्घसंस्था, निजी क्षेत्रलगायत सबैको दायित्वभित्र विपद् व्यवस्थापन पर्ने हुँदा सहकार्य जरुरी रहेकामा जोड दिए ।

मनसुनको समय सुरु भएकाले बाढी, पहिरो, कटान, डुबान लगायतबाट हुने क्षति न्यूनीकरणसँगै अन्य विपद्का घटनामा संवेदनशील भएर अघि बढ्न प्रदेश सरकारले उच्च सतर्कता अपनाएको उल्लेख गर्दै उनले तत्काल उद्धार र राहतका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । उपलब्ध सामग्री, साधन स्रोत भण्डारण गरेर राख्ने नभई प्रयोग ल्याउनुपर्ने उनको भनाइ छ ।

मुख्यमन्त्री पाण्डेले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण गरे। उनले वेन मेटी (खाना तातो बनाउने मेसिन), मोटरबोट र विभिन्न किसिमका उद्धार सामग्री गरी करिब रु ५२ लाखको सामग्री हस्तान्तरण गरेका हुन् । यी सामग्री सुरक्षा निकायले आवश्यकताअनुसार प्रदेश र जिल्लाहरूमा पठाउनेछन् ।

गण्डकी प्रदेश सरकारले विपदमा परेकाको उद्धार, खोज र राहतका लागि ११ वटै जिल्लामा विपद् कोषमा बजेट पठाउने गरेको छ। प्रदेश सरकारले पनि विपद् कोष सञ्चालनमा ल्याएको छ । बैठकमा प्रतिपक्ष दलका नेता खगराज अधिकारी, मन्त्रीहरू, नीति आयोगका उपाध्यक्ष, प्रमुख सचिव, विभिन्न सङ्घसंस्था, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

Ads

सम्बन्धित पोष्टहरू