Ads

प्रधानमन्त्री प्रचण्डको दाबी : ७१ हजार मेट्रिक टन मल मौज्दात छ, यो वर्ष विगतको जस्तो अभाव हुँदैन


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न बिक्री डिपोहरुमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिनिधि सभा सदस्य अब्दुल खानको प्रश्नको जवाफ दिँदै दाहालले गत वर्षको साउन महिनादेखि हालसम्म ३ लाख ५१ हजार टन रासायनिक मल आयात भएको बताए ।

उनले सोमध्ये ७१ हजार टन रासायनिक मल विभिन्न डिपोमा मौज्दात रहेको बताए । यही महिनाभित्र भारतको कलकत्ताबाट ४५ हजार टन डीएपी मल आउने दाहालको भनाइ छ । प्रधानमन्त्री दाहालले यो वर्ष धान रोप्ने सिजनमा विगतको जस्तो मल अभाव नहुने दाबी गरेका छन् ।

‘रासायनिक मलको आपूर्ति व्यवस्था विगतका वर्षमाभन्दा सुदृढ भएको जानकारी गराउन चाहन्छु’ उनले भने ’रासायनिक मलका लागि १५ अर्ब विनियोजन भएपनि थप २३ अर्बको स्रोत सुनिश्चित गरी मल आपूर्ति व्यवस्थालाई सुदृढ गरिएको छ ।’

मलको आयातमा संघीय मन्त्रालयलाई जिम्मेवार बनाइएको र वितरणकार्यमा प्रदेश र स्थानीय तहहरुलाई परिचालन गरिएकाले सहजता भएको उनको भनाइ छ । मल वितरण प्रणालीलाई पारदर्शी बनाउन आपूर्ति र वितरणमा डिजिटल प्रणाली प्रयोगमा ल्याइएको दाहालले बताए ।

Ads

सम्बन्धित पोष्टहरू