काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको हिमाल, पहाड र तराई–मधेसमा बसोबास गर्ने विभिन्न जाति, भाषा, वर्ग, समुदायको मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा समग्र राज्यको ध्यान जानुपर्ने बताएका छन् ।
उपराष्ट्रपति कार्यालय लैनचौरमा आज आयोजित ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार, २०७९’ समर्पण समारोहमा मौलिक गीत, सङ्गीत, कला, संस्कृतिको संरक्षणमा जोड दिए । उनले गीत, सङ्गीत, नाट्य बिदाको संरक्षण, सम्वर्द्धनसहित सर्वाङ्गिीण विकास तथा अध्ययन, अनुसन्धानमा अहोरात्र खटिने सर्जकलाई सम्मानित गर्न कन्जुस्याइँ गर्न नहुने धारणा व्यक्त गरे ।
नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्म निरपेक्षता र कानुनी राज्यलाई अङ्गीकार गरेको प्रसङ्ग उल्लेख गर्दै उपराष्ट्रपति यादवले भने, “मुलुकको संवैधानिक व्यवस्थाले बहुजाति, भाषा, संस्कृति र वेशभूषालगायतको संरक्षण तथा सम्वर्द्धनसहित समग्र भूगोल, वर्ग, धर्म, समुदाय र संस्कृतिलाई एकापसमा जोड्ने काम गरेको छ, विविधताको एकता हाम्रो हाम्रो मौलिक पहिचान हो, यसलाई नै आत्मसात् गरी अघि बढे राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकता बलियो भई समग्रमा देश समृद्ध बन्छ भन्नेतर्फ हामी सबैको ध्यान जान आवश्यक छ ।”
अग्रज स्रष्टा एवं सर्जकको सम्मानित एवं पुरस्कृत गर्ने संस्कारलाई निरन्तरता दिनुपर्ने खाँचो औँल्याउँदै उनले सम्मानित सर्जकलाई बधाई र आयोजक नाट्य प्रतिष्ठानलाई धन्यवाद दिए । समारोहमा वरिष्ठ सङ्गीतकर्मी, विजयकुमार श्रेष्ठ, वरिष्ठ गायक, गीतकार तथा सङ्गीतकार गणेश रसिक, नाट्य समालोचक तथा अनुसन्धानदाता प्रा डा रामचन्द्र पोखरेल, वरिष्ठ नृत्य निर्देशक कुलमान नेपाली, वरिष्ठ लोकगायक नवीन किशोर राई र वरिष्ठ रङ्गकर्मी भैरव क्षेत्री सम्मानित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्