काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई पुरुषसरह अधिकार दिन नसकेसम्म महिलामाथि हुने हिंसा अन्त्य गर्न नसकिने बताएकी छन् । शुक्रबार संसद भवनमा आयोजित संसदीय प्रभावकारितामा महिला सांसदहरूको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाका पार्टी बाहेकका साझा दायित्वहरु रहेकाले सबै एक भएर महिलाका हितका लागि लड्नुपर्ने बताइन् ।
महिलालाई अधिकार दिलाउने नीति निर्माण गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो । साथै सामाजिक आर्थिक रुपले आधारभूत तहको लैङ्गिक र सामाजिक, जातीय विभेदहरुको अन्त्य नगरेसम्म समुन्नत समाज निर्माण गर्न नसकिने उनले बताएकी थिइन् ।
‘हामी महिलाको पार्टीगत भन्दा अरु साझा दायित्वहरु पनि छन् । यसमा हामी सबै मिलेर एकजुट भएर जनताका लागि काम गर्नुपर्छ, महिलाका अधिकारमा काम गर्नुपर्छ । हामीले अझैसम्म समान अधिकार हासिल गर्न सकेका छैनौं । जबसम्म समान उपलब्धि हासिल गर्न सक्दैनौं, महिलामाथि हुने हिंसा अन्त्य हुन सक्दैन । हामीले यो अधिकार दिलाउने नीति निर्माण गर्नुपर्छ,ु उपाध्यक्ष अर्यालले भनिन् ।
यस्तै उनले महिलाहरूलाई ३३ प्रतिशतमा सीमित गर्नुको सट्टा कार्यकारी पदमा पुर्याउनुपर्ने सुझाव दिएकी थिइन् । सीमित पदमा महिलाललाई समावेश गरेर मात्रै समान उपलब्धि हासिल गर्न नसक्ने उनको तर्क थियो ।
प्रतिक्रिया दिनुहोस्