पोखरा । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि छलफल र पहल भइरहेको बताएका छन् । आज बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री प्रचण्डले एकताका लागि पहल भइरहेको बताए ।
उनले भने, ‘माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ । हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । त्यसका लागि सबैले देशको पक्षमा सोच्न र काम गर्न जरूरी छ ।’प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका साथ देश निर्माणका लागि फेरि नयाँ फड्को मार्न जरूरी रहेको बताए । उनले भने, ‘माओवादी केन्द्रमा मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन । यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने
वातावरणका लागि सोचेको थिएँ, त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ । जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ। हामीले राम्रो गर्न खोज्दैछौँ। सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको छ, त्यसलाई सफा नगरी देश बन्दैन ।’उनले पूर्वमाओवादी शक्तिहरुसँग पनि पार्टी एकताका लागि छलफल जारी रहेको बताए ।
माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले माओवादीको पहलमा नै समाजवादी मोर्चा घोषणा गरिएको स्पष्ट पारे । उनले समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने बताए । उनले आफूहरु विशेष महाधिवेशन गर्नेमा तयारीमा रहेको उल्लेख गर्दै यसले पार्टी पुनर्निर्माणमा योगदान पुग्ने बताए । उनले भने, ‘सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै लैजानुपर्छ।’
प्रतिक्रिया दिनुहोस्