काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा बनाएर वामपन्थी एकता गर्न लागेको बताएका छन् । नारायण विलास जोशी स्मृतिको ३४ औं स्मृति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले फेरि कम्युनिष्ट पार्टी एकताको दिशामा अगाडि बढ्ने उद्घोष गरे ।
उनले भने,‘अहिले क. माधव कुमार नेपाल, म लगायत,क. विप्लव र क. उपेन्द्र यादव समेतले फेरि एकचोटी समाजवादी मोर्चा बनाएर वामपन्थीहरुलाई एकताबद्ध गर्ने पहल सुरु गरेका छौं।’ उनले फेरि समाजवादी मोर्चा हुँदै नेकपातिर फर्कन पर्ने बताए । प्रचण्डले झण्डै दुई तिहाई भएको नेकपा एकचोटी असफल भयो भन्दैमा पछाडि हट्न नहुने भएकाले कम्युनिष्ट एकतामा जुट्नुपर्ने धारणा राखे । उनले के कारणले कम्युनिष्ट
विभाजन भए गम्भीर समीक्षा गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । प्रचण्डले समाजवादी मोर्चाबाट वामपन्थीलाई एकता गर्ने भनेपनि मोर्चामा कम्युनिष्ट र गैरकम्युनिष्ट रहेका छन् । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा रहेको छ । मोर्चामा आएका चार पार्टीका फरक–फरक सिद्धान्त, विचार, दृष्टिकोण र कार्यक्रमहरू छन् ।
माओवादी केन्द्र, नेकपा एस र विप्लव तीन कम्युनिस्ट पार्टी हुन् । मधेस केन्द्रित जसपा पनि यो मोर्चामा छ । तर, उसले कम्युनिस्ट सिद्धान्त मान्दैन । विप्लव कम्युनिस्ट भए पनि संसदीय व्यवस्था मान्दैन । प्रचण्डले स्मृति दिवसको अवसरमा नारायण विलास जोशी प्रतिष्ठान भवनको उद्घाटन एवम् प्रतिमा अनावरणसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्