Ads

कोशी प्रदेश : मुख्यमन्त्री बन्न थापाले बहुमत जुटाउन हम्मे–हम्मे


माधव काफ्ले

विराटनगर । कोशी प्रदेशमा गठबन्धनबाट कसले मुख्यमन्त्री पाउने भन्नेमा चलेको रस्साकस्सी बल्लतल्ल सल्टिएको छ । प्रदेशमा सहमति नजुटेपछि केन्द्रीय तहले नेपाली कांग्रेसको नेतृत्वमा कोशी प्रदेश सरकार बनाउने सहमति भएसँगै यो विषय सल्टिएको हो ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई पन्छाउँदै कांग्रेस संसदीय दलका नेता उद्वव थापा मुख्यमन्त्री बन्ने पक्का भएको हो। तथापी, प्रदेशको संसदीय अंक गणित हेर्दा मुख्यमन्त्री बन्न थापाले बहुमत जुटाउन हम्मे–हम्मे पर्ने देखिएको छ।

गठबन्धनमा रहेका दलहरू कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाको जोड्दा जम्मा ४६ जना सांसद पुग्छन् । जबकी, बहुमत पुर्याउन ४७ सांसदको आवश्यकता पर्छ। सभामुखलाई पनि प्रदेश सभा सदस्य भनेर गणना गर्दा मात्र गठबन्धनको पक्षमा सरकारको दाबी पुग्छ। यस्तो अवस्थामा राप्रपालाई पनि गठबन्धनमा समेटेर लैजाने तयारी थालिएको कांग्रेसले जनाएको छ।

राप्रपाको समर्थन नपाएसम्म थापालाई सुरुमा सरकारको दाबी पेस गर्नै अप्ठेरो र दाबी गरिहाले बहुमत जुटाउन सकस पर्ने देखिन्छ। हाल एमालेसँगै रहेको राप्रपाका ६ सांसद विपक्षी गठबन्धनमा आइपुगे सरकार आरामले बन्ने देखिन्छ। कोशी प्रदेशमा राप्रपा र एमाले एकातर्फ रहेका छन् भने कांग्रेस, माओवादी, नेकपा एस र जसपा अर्कातर्फ छन्। ९३ सदस्यीय प्रदेशसभामा दुवै गठबन्धनसँग ४६–४६ सांसद छन् । सभामुख भने माओवादीबाट चुनाव जितेका बाबुराम गौतम रहेका छन्।

Ads

सम्बन्धित पोष्टहरू