काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टी प्रवक्ता डा. मुकुल ढकालले प्रधानमन्त्रीको अभिव्यक्तिको आधारमा एमालेले राजीनामा मागेकोमा रास्वपाको धारणा बताएका हुन् ।
उनले रास्वपाले प्रधानमन्त्रीको राजीनामा नमागेको स्पष्ट पार्दै ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीले सहयोग गरेको भनेर दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीले प्रष्टीकरण दिनुपर्ने बताए । रास्वपा लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा भैरहवा पुगेका डा. ढकालले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दा त्यसको विकल्प दिनुपर्नेमा जोड दिए ।
डा. ढकालले भने – ‘प्रधानमन्त्रीले किन बोल्नुभयो आफ्नो कुरा स्पष्ट पार्नुपर्छ । उहाँले स्पष्ट पारेको आधारमा हामी थप टिप्पणी गर्नेछौँ ।’ नेता ढकालले एमालेले नेपालको संविधानको मर्मअनुसार विकल्प बिना प्रधानमन्त्रीको राजीनामा माग्न नहुने जिकिर गरे । उनले भने, ‘यो कुरा एमालेले बुझ्नुपर्छ । प्रधानमन्त्री राजीनामा माग्दा विकल्प दिनुपर्छ नत्र राजीनामा माग्न हुँदैन ।’
त्यसका साथै डा. ढकालले काँग्रेस–एमालेलाई मिलेर सरकार बनाउन पनि सुझाव दिए । उनले काँग्रेस–एमाले मिल्दा पनि माओवादीसँग प्रतिपक्षमा बस्ने ल्याकत नभएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्