Ads

स्वास्थ्य र शिक्षाबाट कोही नागरिक बञ्चित हुनु हुँदैन : स्वास्थ्यमन्त्री बस्नेत


काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्नो पदीय मर्यादा राखेर दायित्व निर्वाह गर्न सके सम्बन्धित क्षेत्रसँगै देश विकास हुने बताएका छन् । शनिबार आयोजित स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं गीतकार डा भोला रिजालद्वारा लिखित पुस्तक ‘सेतो कोट’ लोकार्पण कार्यक्रममा उनले आफूले लगाउने कोटको मर्यादा ठीकसँग पालन गर्न आग्रह गरे।

उनले भने, “कोट सेतो होस् वा कालो, हामी जिम्मेवार नभएसम्म विकास हुँदैन । त्यसैले म २२ वर्षपछि मन्त्रालयमा राज्यमन्त्रीबाट मन्त्री बनेर आउँदा सङ्कलित सुझावअनुसार कार्य गरिरहेको छु ।”उनले चिकित्सकसँग छलफल गरेर पेसाप्रतिको सम्मान गर्दै ‘सेतो कोट’ दिवस घोषणा गर्ने जानकारी दिए । साथै उनले मुलुकको सबैभन्दा ठूलो सरकारी वीर अस्पतालमा आगामी साउन १ गतेदेखि ओपिडी सेवा बिहान ८ बजेदेखि उपलब्ध हुने बताए ।

“अस्पताल समयमा पनि चिकित्सक नभेटिने समस्यालाई यसले केही हदसम्म निरुत्साहन गर्नेछ, चिकित्सक र स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बनाउन पनि मन्त्रालय दृढ छ”, मन्त्री बस्नेतले भने, “बिहानको समय अगाडि ल्याउँदा बेलुकी समय छोट्याएका छौँ। हाम्रो देशमा शिक्षा र स्वास्थ्यमा नागरिकको निःशुल्क पहुँच आवश्यक छ।”

संविधानमा सुनिश्चित गरिएको स्वास्थ्य र शिक्षाबाट कोही नागरिक बञ्चित हुन नहुने विचार राख्दै मन्त्री बस्नेतले उपचार सेवालाई सहज, सरल र सुलभ तुल्याउन अनलाइनका माध्यमबाट टिकट लिने व्यवस्था गर्न लागिएको समेत जानकारी दिए। लेखक रिजालले ‘सेतो कोट’लाई चिकित्सकको कर्म, धर्म र मर्म बुझाउने एउटा सरल तर गहन पुस्तकका रूपमा प्रस्तुत गरिएको जानकारी दिए। उनले भने, “यो पुस्तक सम्पूर्णका लागि हो, हामीलाई बुझ्नेका लागि हो । यसमा चिकित्सा पेसा, शिक्षा र आचारसंहिताको विवेचना गरिएको छ । यसले हामीलाई धेरै तथ्यसँग जानकार गराउँछ।”

Ads

सम्बन्धित पोष्टहरू