Ads

न्यायपरिषद्को वैठक छिटो बसेर न्यायाधीश नियुक्त गरिनेछ : प्रधानन्यायाधीश कार्की


मोरङ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपरिषदले वैठक छिटो बसी न्यायाधीश नियुक्तको विषय टुङ्ग्याउने बताएका छन्।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले निर्वाचन, सरकार निर्माण र कानूनमन्त्री नियुक्त जस्ता विविध कारणले बैठक बस्न ढिलो भएको र अब चाँडै न्यायाधीश नियुक्त हुने प्रष्ट पारे।

प्रधानन्यायाधीश कार्कीले न्यायपरिषदको संरचनामा केही परिवर्तनको आवश्यक्ता विषयमा विभिन्न कोणबाट प्रश्न उठिरहेको छ भन्दै विगतमा आफ्नो नेतृत्वमा  बनेको समितिले दिएको प्रतिवेदनमा परिषदको पुनः संरचना विषयमा कुरा उठाएको र संविधान संशोधन हुँदा यो विषयलाई हेरिनु पर्छ भनिएको जानकारी दिए ।

उनले सर्वोच्च अदालतमा गोला प्रथा प्रणाली लागु भएपछि  मुद्दासम्बन्धी जनताको विभिन्न प्रकारका जनगुनासा निर्मूल भएको बताए। प्रधानन्यायाधीश कार्कीले भने, ‘ जिल्ला तथा उच्च अदालतमा दुई जोड शुन्य अभियान संचालनवाट  दुई वर्ष नाघेका मुद्दा नगन्य अवस्थामा रहेको छ ।’

उनले आगामी दिनमा मुद्दाको प्रकिया अनुसार छ महिना, एक वर्ष र १८ महिनाको  मार्ग निर्धारण गरेर फैसला गर्ने क्यालेण्डर सिस्टम बनाउने र यसबाट यथासमयमा न्यायालयबाट मुद्दाको फैसला हुने विचार व्यक्त्त गरे । प्रधानन्यायाधीश कार्कीले संविधान र कानूनमा भएको  व्यवस्था अनुसार लामो समयदेखि रिक्त रहेको ठूलो सङ्ख्याका न्यायाधीश नियुक्ति गरेमा अदालतमा हुने मुद्दाको चाप घट्ने धारणा राखे ।

Ads

सम्बन्धित पोष्टहरू