एउटा असल श्रीमानका लागि श्रीमती के मात्र होईन ? वा, एउटा असल श्रीमतीका लागि श्रीमान के मात्र होईन ? सवै हो । परम्परागत रुपमा हेर्ने हो भने सामाजिक वा सांस्कृतिक सम्वन्धबाट शुरुवात हुने दाम्पत्य जीवनलाई हेर्ने दृष्टिकोण पनि उस्तै बलशाली देखिन्छ । अनि भनिएको होला, श्रीमान–श्रीमती एकरथका दुई पाङ्ग्रा । नेपाली समाज पुरुषप्रधान चिन्तनबाट हुर्किए पनि पुरुषहरुको सफलताको श्रेय महिलालाई दिन हिच्किचाएको पाईँदैन । त्यसैले त भनिन्छ नि, हरेक सफल पुरुषको सफलताको पछि कोहि न कोहि स्त्रीको हात हुन्छ भनेर । बुधबार यस्तै एउटा आदर्श दाम्पत्य जीवनको अवशान भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको निधनसँगै २०२६ साल देखिको अनवरत सहयात्रा टुटेको छ ।
५५ वर्षको साझेदारी
२०११ सालमा जन्मिएकी सीताले १५ वर्षको उमेरमा कक्षा १० मा पढ्दा पढ्दै छविलाल दाहालसँग विवाह गरेकी थिईन् । २०११ मंसिर २६ गते कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा जन्मिएका मुक्तिराम र भवानीका जेठो छोरा छविलाललाई न त्यस बेला प्रचण्ड बनौला भन्ने थिया, न यो मुलुकको सर्वोच्च कार्यकारी । २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगरमा बसाइ सराई छविलालले २०२६ बैशाखमा जव सीता पौडेलस सँग विवाह गरे त्यस पछि मात्र शुरुभएको हो उनको प्रचण्ड यात्रा । छविलालबाट पुष्पकमल दाहालहुँदै प्रचण्ड सम्मको रुपान्तरणमा पत्नीका रुपमा सीताको योगदान भकुण्डो भित्रको हावा जस्तै भएर लुक्यो ।
जव एउटा भकुण्डो रित्तो हुन्छ, त्यो भकुण्डोको स्वरुप र आकारमा हुँदैन । त्यसलाई देख्नेहरुले पनि भकुण्डो भन्दैनन् । तर जव त्यसमा हावा भरिन्छ अनि मात्र त्यसले भकुण्डोको आकार लिन्छ, गोलाकार हुन्छ र मानिसहरुले भकुण्डो भनेर पत्याउँछन् । तर त्यस बेला बेआकार–बेस्वरुपको भकुण्डोलाई जीवन्ता दिने त्यस भित्रको हावालाई भने न दुनियाले देख्छ, न चिन्छ । वास्तवमा किशोर छविलाललाई वयस्क पुष्कममल दाहाल र शक्तिशाली प्रचण्ड बनाउन पत्नी सीताको योगदान त्यहि हावा बन्यो । उनी चुपचाप भकुण्डो भित्रै रहिन, भकुण्डोले पनि जतनसाथ जोगाई रहयो । उनले दाम्पत्य जीवनको ५५ वर्ष प्रचण्डलाई चम्किलो भएर बाल्न र प्रचण्ड छवि बनाउन दियो भित्रको तेल जस्तै भएर भुमिका खेलि रहिन् । मौन, चुपचाप ।
प्रकाश निभे पछिको अन्धकार
राजकीय र शासकीय शक्तिको सर्वोच्चतामा पुगे पनि प्रचण्डको पारिवारीक चोट र वियोग कहाली लाग्दै छ । २०७० सालमा जेठी छोरी ज्ञानुको क्यान्सरका कारण निधन भयो । त्यस बेला राजनीतिक र दलिय रुपमा समेत शक्तिशाली बनेका प्रचण्डलाई उनले कमजोर हुन दिईनन् । आफ्ना सन्तान गुमाउनुको पीडा कुन बाबुलाई हुँदैन र ? तर त्यो बियोगको पीडामा पनि श्रीमानलाई जिम्मेवारीपूर्ण दैनिकीबाट पछि हट्न दिईनन् । बरु छोरा प्रकाशले बाबुलाई दर्विलो साथ दिई रहे । कार्यतालिका व्यवस्थापन देखि पारिवारीक जिम्मेवारीहरुको साझेदारीमा छोराको पनि साथ रहयो । छोरीहरु पनि बाबुको साहस बनेर उभिएका थिए । तर २०७४ सालको निर्वाचन लगत्तै छोरो प्रकाश पनि गुमाउनु परे पछि प्रचण्ड परिवारमा अन्धकार छायो ।
बियोगको कालकुट पिउने सीता
आफ्ना जिम्मेवारीहरु साझेदारी गर्न सक्ने भई सकेका छोरा–छोरी लगातार गुमाउनु पर्दाको पीडा जीवनको उत्तरार्ध प्रवेश गर्दै गरेका बाबुआमाका लागि कस्तो हुन्छ ? यति हुँदा पनि सीताले श्रीमानमा बियोग र पीडाको छाँया पर्न दिईनन् । बरु आँफै कालकुट विष पिउन तयार भईन् । तर छोरा छोरीहरुको वियोगको कालकुटले उनलाई क्रमिक रुपमा कमजोर बनाउँदै लग्यो । राष्ट्रिय अन्तर्राष्ट्रिय जिम्मेवारीहरुबाट निवाश पुग्दा कमजोर हुँदै गएको श्रीमतीको अवस्थाले पक्कै पनि प्रचण्डलाई गलाउँथ्यो होला । तर सीताले ५ दशक सम्म दिएको साथ, उत्प्रेरणा र सुरक्षाले प्रचण्डलाई कमजोर हुन दिएन । सीता चाँहि क्रमिक रुपमा कमजोर हुँदै गईन । परिवारले उनको उपचारका लागि भरपूर प्रयास गरेकै हो । आखिर, अनेक प्रयासका बावजुद पनि ६९ वर्षको उमेरमा सीताको निधन भएको छ । उनको निधनसँगै प्रचण्डको ५५ वर्षको सहयात्रामा पनि पूर्णविराम लागेको छ ।
प्रचण्ड पत्नीमै लुक्यो चिनारी
२०६४ को निर्वाचन पछि नेकपा माओवादी सवै भन्दा ठुलो दल बन्यो । त्यस पछि प्रचण्ड गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बने । श्रीमानसँगै पार्टी र जनयुद्धमा होमिएकी सीताको पनि नेपाली कम्युनिष्ट राजनीतिमा उत्तिनै योगदान थियो । उनले पनि कुनै महत्वपूर्ण जिम्मेवारीहरु लिन सक्थिन् । तर उनले त्यो चाहिनन् । अन्तरमूखी स्वभाव र सरल जीवनशैलीकी सीता शक्ति, व्यक्तिगत मोहमा कहिल्यै फसिनन् ।
२०७३ मा प्रचण्ड दोश्रो पटक प्रधानमन्त्री भए । तर जेठी छोरी गुमाउनुको पीडाले सीतामा राजसी ठाँट र शक्तिशाली बन्ने मोह झनै दुर भई सकेको थियो । त्यसैले उनी आँफै प्रचण्ड वा प्रचण्ड जस्तै बन्नु भन्दा प्रचण्डकै छायाँ बनेर मौन रहिन् । क्रमिक रुपमा रोगले गाँज्दै लगे पछि प्रचण्ड तेश्रो पटक प्रधानमन्त्रीहुँदा त उनी त्यस उत्सवको साझेदार हुन पनि सकिनन् । उनी शारीरिक रुपमा कमजोर भई सकेकी थिईन् ।
२०२८ साल देखिनै कम्युनिष्ट पार्टीमा लागेकी सीता पछिल्लो समय माओवादी केन्द्रको सल्लाहकारको भुमिकामा थिईन् । तर यो उनका लागि मानार्थ मात्र बन्यो । उनले पार्टी र सरकारको उपयोगबाट कहिल्यै पनि लाभ लिईनन् । जनयुद्धमा समेत उनी प्रचण्ड पत्नी मात्र थिईनन्, समग्र जनयुद्ध र जनयुद्धको सुप्रिमोकी सवै भन्दा भरोसायुक्त सल्लाहकार पनि थिईन् । उनको यो योगदान भए पनि उनको परिचय र चिनारी प्रचण्ड पत्नीमै लुक्यो । उनले व्यक्तिगत अरु परिचय समेत बनाउन चाहिनन् ।
एक आदर्श पत्नी
आफुले कुनै योगादन नगरे पनि । आफु कुनै शक्तिशाली पदमा नरहे पनि श्रीमानको पद र शक्ति भँजाएर व्यक्तिगत लाभ लिनेहरुको नाम बेला बेला बहसमा आउने गरेको छ । श्रीमानको शक्तिको आडमा पार्टी भित्र नायवी शासन चलाउने, कर्मचारी–सुरक्षाकर्मी भर्ना देखि सरुवा सम्म प्रभाव र पहुँच विस्तार गर्ने । अतिरिक्त लाभको अभिलाषा राख्नेहरु पनि कतिपय हुन सक्लान् । तर यि सवबाट सीता अलग थिईन । उनले कुनै पनि दिन कुनै मन्त्रीलाई आदेश दिएको, कर्मचारी हप्काएको, कार्यकर्ता थर्काएको, अतिरिक्त लाभको मोह देखाएको सुनिएन ।
उनको जीवनशैलीबाट अरु पनि धेरै राजनीतिज्ञ, प्रशासक तथा शक्तिशाली ओहदाका व्यक्तिका पत्नीले मात्र होईन श्रीमान र परिवार प्रतिको समर्पण कस्तो हुुनु पर्छ भनेर सीताबाट पाठ सिक्न जरुरी छ । माओवादी जनयुद्ध र त्यस पछिको राजनीतिले उनको पार्टी र पतिलाई जतिनै शक्तिशाली बनाए पनि त्यसको उपयोगमा उनको कहिल्यै मोह गएन । एउटा आदर्श आमा, पत्नी र राजनीतिककर्मीका रुपमा उनले भौतिक विदाई लिईन् । यहि गुण र विशेषतानै यो समाजका लागि उनको सवै भन्दा ठुलो गुन पनि रहयो ।
परिवारकी मियो बनेकी सीता
चाँदनी शाहाले लेखेको बहुचर्चित र लोकप्रिय गीत छ–
उकाली ओरालीहरुमा भन्ज्याङ अनि चौतारीहरुमा
सुन्दर ती दहहरुमा हिमालका विशाल छातीहरुमा
जहाँ जहाँ जान्छौ तिमी म पाइला बनी पछ्याइरहन्छु
ती छहरा खोला खहरेहरुमा सम्झना बनी बगिरहन्छु ।
यहि गीत जस्तै बनेकी थिईन, प्रचण्ड र उनको परिवारका लागि सीता । कान्छी छोरी जन्मिए लगत्तै पार्टीका लागि पूर्णकालिन बनेका उनले परिवारका लागि समय दिन सक्ने अवस्था थिएन । काखे छोरी सहित सीता परिवारको अटल मियो बनेर उभिईन् । मियो मात्र बनिन्, श्रीमानले जनयुद्धको तयारी गर्दै गर्दा ‘अब पार्टीले युद्ध शुरु गर्छ । जतिबेला जे पनि हुन सक्छ । तिमिले ४ छोरा छोरी सहित परिवार सम्हाल्नु म युद्धमा लाग्छु ; भन्दा पनि सीताले श्रीमानको साथ छोडिनन् ।
साना नानीहरु स्याहार्दै, सुरक्षा दिँदै कहिले नेपालका दुर्गम बस्तिहरु त कहिले भारतका विभिन्न कुना कुना सम्म श्रीमानको भरोसा भनेर साथै रहिन् । सन्तानको सुरक्षा बनेरसँगै राखिन् । दर्के झरीमा एउटा कुखुराको पोथीले आफु भिजे पनि, गले पनि जसरी पङ्खेटाले आफ्ना चल्लाहरु छोपेर सुरक्षा दिन्छ, त्यस्तै सीताले आफ्ना सन्तान र परिवारलाई विभिन्न आरोह–अवरोहका झरीहरुमा भिज्न दिईनन् । आफु भिजी रहिन्, परिवार जोगाई रहिन् । अनी गीत जस्तै
उकाली ओरालीहरुमा भन्ज्याङ अनि चौतारीहरुमा
सुन्दर ती दहहरुमा हिमालका विशाल छातीहरुमा
जहाँ जहाँ जान्छौ तिमी म पाइला बनी पछ्याइरहन्छु ………. भनि रहिन् ।
बाँकी रहयो कविताको अन्तिम हरफ– ती छहरा खोला खहरेहरुमा सम्झना बनी बगिरहन्छु । अब यो अन्तिम हरफ, पति प्रचण्ड र दुई छोरीका लागि रहयो । जहाँ जहाँ उनीहरु जान्छन्, सीताको सम्झना र योगदानले पक्का पनि पाईला बनि पछ्याई रहने छ ।
प्रतिक्रिया दिनुहोस्