Ads

राष्ट्रिय जनगणना–गल्ती नहोस् कोही कसैबाट


दीपक ज्ञवाली

राष्ट्रिय जनगणना–२०७८ को मूल गणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुँदैछ । ‘मेरो जनगणना, मेरो सहभागिता’ नाराका साथ केन्द्रीय तथ्याङ्क विभाग १२औँ राष्ट्रिय जनगणनाअन्तर्गत मूल गणनाको अन्तिम तयारीमा छ । तयारीको पहिलो चरणअन्तर्गत घर तथा घरपरिवार सूचीकरण भएको छ । अब बहुआयामिक मूल गणनाको प्रतीक्षा छ ।
तथ्याङ्कले हरेक क्षेत्रमा सबैभन्दा ठूलो अर्थ राख्छ । तथ्याङ्ककै आधारमा योजना निर्माण हुन्छन् । बजेट विनियोजन हुन्छ । तथ्याङ्ककै आधारमा समाजको आगामी दिशा निर्धारण हुन्छ । देश र जनताको समृद्धिको खाका तथ्याङ्ककै आधारमा तय हुन्छन् । अरू त अरू, तथ्याङ्ककै आधारमा कुनै देशलाई कस्तो दृष्टिले हेर्ने, कस्तो बनाउने, कस्तो सहयोग वा असहयोग गर्ने भन्ने अन्तर्राष्ट्रिय मान्यता बन्दछ ।
खोजी पत्रकारितामा पनि तथ्याङ्कको निकै ठूलो अर्थ हुन्छ, जसबाट सत्य पत्ता लगाउन सकिन्छ । सत्य पत्ता लाग्दा अनियमितताको अन्त्य गर्दै सुशासन कायम गर्न बल प्रदान हुन्छ । संसारमा ठूला ठूला अनियमितता र बेथितिहरू तथ्याङ्कका आधारमा पत्ता लाग्ने गरेका उदाहरणहरू छन् । यी सबै काम सही तथ्याङ्कबाट मात्र सम्भव छन् । तथ्याङ्क गलत भए र तिनको प्रयोग गरियो भने अनिष्टका तमाम शृङ्खलाहरू ओइरिन थाल्दछन् । विकासको साटो विनाश हात लाग्न सक्छ ।

प्रसङ्गतः अहिले देश १२औँ राष्ट्रिय जनगणनाअन्तर्गत मूल गणनाको अन्तिम तयारीमा छ । सही तथ्याङ्क सङ्कलन र प्रशोधन गर्ने र त्यही तथ्याङ्कका आधारमा जनता, समाज र देशको अबको यात्रा तय गर्ने हाम्रासामु सबैभन्दा ठूलो दायित्व छ । उदाहरणका लागि एउटा गाउँमा कति जनसङ्ख्या छ ? को को बसोवास गर्छन् ? नागरिकको आर्थिक, सामाजिक, धार्मिक, शैक्षिक अवस्था कस्तो छ ? यस्तै तमाम सही तथ्याङ्कका आधारमा त्यस गाउँका नागरिकको समस्या र आवश्यकता पहिचान हुन्छ । आगामी योजना, बजेटलगायतको तय गर्न सकिन्छ । तथ्याङ्क सही भएन भने उक्त गाउँमाथिको योजना असफल मात्रै होइन, दुष्परिणाममा समेत परिणत हुन्छन् ।

बहुआयामिक अवसर

देशका तमाम सही सूचना र तथ्याङ्कका लागि १२औँ राष्ट्रिय जनगणना बहुआयामिक अवसर हो । तथ्याङ्कमाथि लापरबाही गर्न कसैलाई छुट छैन । यो मामिलामा नीति निर्माणदेखि सामान्य गणकसम्म निकै संवेदनशील, जिम्मेवार, निस्वार्थ र सक्षम बन्न जरुरी छ । किनभने तथ्याङ्कमाथिको सानो गल्तीले राष्ट्र र जनतामाथि ठूलो धोका हुनसक्छ । त्यसैले राष्ट्रिय जनगणनालाई सफल पार्न सरकार र समाजका सबै तह र तप्काको निकै ठूलो योगदान हुनुपर्ने हुन्छ ।
केही ठूला र अत्यासलाग्दा राष्ट्रिय, अन्तर्राष्ट्रिय घटनाक्रमका कारण विगतका केही राष्ट्रिय जनगणना प्रभावित भएको तर्क गर्नेहरू अहिले पनि छन् । कतिपय गणक गाउँमै पुग्न नसकेको वा लक्षित भूगोलमा नपुगिकनै तथ्याङ्क तयार पारेका कारण सही तथ्याङ्क सङ्कलन हुन नसकेको आरोप लाग्दै आएको छ । यसपालि पनि सहज अवस्था भएन । विश्वभर अप्रत्याशित क्षति पु¥याएको कोभिड–१९ कारण राष्ट्रिय जनगणनाको पूर्वनिर्धारित तालिका प्रभावित हुन पुगेको हो । अहिले स्थिति सामान्य बन्दै छ । कतिपय चुनौती चिर्दै जनगणनाको मूल गणना सम्पन्न गर्ने दायित्व सबैसामु छ । यस पटक विगतमा जस्तै कतिपय कमजोरीको आरोप लाग्ने अवस्था आउन दिनु नै हुँदैन । जनगणनामा सरकार र समाजका सबै तहका नागरिकको सहभागिता र सक्रियता हुनुपर्छ । यसैले मात्रै जनगणनाको उद्देश्य पूरा हुनेछ ।

यस पटकको राष्ट्रिय जनगणनामा केही अतिरिक्त मौलिकपन छन् । नयाँ संविधान र सङ्घीयता लागू भइसकेपछिको जनगणना ७ प्रदेश र ७५३ स्थानीय तहबाट हुँदैछ । जनगणना सफल हुँदा र सही तथ्याङ्कहरू सङ्कलन हुँदा संविधान र सङ्घीयताको सफल कार्यान्वयनमा बल पुग्नेछ । संविधानप्रदत्त मौलिक हक–अधिकार तथा सामाजिक सुरक्षाका प्रावधानहरूलाई थप प्रभावकारी बनाउन सघाउ पुग्नेछ । राज्यका तीनै तहमा नीति–नियम र योजना निर्माणका लागि दिशा निर्देश हुनेछ । हरेक नागरिकले राज्यलाई योगदान दिने र राज्यबाट पाउने लाभ लिने अवसरको पनि यसले सुनिश्चित गर्नेछ ।

विवादरहित गणना र कार्यसम्पादनका लागि केन्द्रीय तथ्याङ्क विभागले प्रतिबद्धता जनाएको छ । त्यसका लागि प्रदेश, जिल्ला र स्थानीय स्तरमा आवश्यक सङ्ख्यामा जनगणना कार्यालयहरू स्थापना भएका छन् । ती सबै कार्यालय, कार्यालयका अधिकारीहरू, गणक–सुपरिवेक्षक सबैका लागि कुशल कार्यसम्पादनको क्षमता प्रदर्शन गर्ने अवसर छ ।
विश्वसनीय तथ्याङ्कका निम्ति गणक–सुपरिवेक्षकको महìवपूर्ण भूमिका रहन्छ । विविध भाषाभाषी, संस्कार, संस्कृति र शैली भएका स्थानीयसँग घुलमिल हुने, सबै प्रकारका सहयोग लिने र सही सूचना लिनसक्ने सीप र जाँगर गणक–सुपरिवेक्षकहरूले प्रदर्शन गर्नसक्नु पर्दछ । सजिलै नखुल्ने कतिपय नागरिकले आफ्नो सही विवरण दिन हिच्किचाउन पनि सक्छन् । फरक भाषा र भूगोलको समस्याका कारण सही तथ्याङ्क लिन जटिल पनि हुनसक्छ । कुशल गणक–सुपरिवेक्षकहरूले यस्तो जटिलता पार गर्दै सही नजिता निकाल्न सक्दछन् । त्यो कुशलता यस जनगणनामा देखिनुपर्छ ।

समावेशी अभ्यासमा अघि बढेको नेपालमा यसबारे स्पष्ट चित्र पनि जनगणनाले नै दिनेछ । जातजाति, भाषा, लिङ्ग, धर्म, संस्कृतिबारे यथार्थ चित्र आएमा मात्र समावेशी चरित्रलाई अझ समुन्नत बनाउन सकिन्छ । हरेक घरमा सोधिने न्यूनतम ५४ वटा प्रश्नका सही उत्तर नआएमा अवस्था के हुनेछ भन्ने गम्भीर पक्ष अहिल्यै बुझ्नु जरुरी छ । कोही नछुटाउने र कोही नदोहो¥याउने सुनिश्चितताले कतिपय गम्भीर चुनौती पार गर्न सघाउने छ ।
अहिले देशमा सबैभन्दा बढी चासो र सरोकार राख्ने विषय के हो ? अथवा सबैले महìव दिनुपर्ने मुद्दा के हो ? यसप्रति अधिकांशको मत मिलेको देखिँदैन । कतिपय राजनीतिकर्मी, जनगणना तथा जनसङ्ख्याविद्हरू यस मुद्दामा चिन्तित देखिए पनि राष्ट्रिय राजनीनिमा यति गम्भीर मुद्दा ओझेलमै परेको देखिन्छ । अहिले देशमा केही तात्कालीन घटनाक्रमप्रति धेरैको ध्यान, चासो र चिन्ता बढी छ । दलहरू बीचको विवाद र तानातान, राष्ट्रिय राजनीतिमा देखापरेका उतारचढाव तथा सर्वोच्च अदालतभित्र चर्किएको द्वन्द्वलगायतका कारणले अति महìवको राष्ट्रिय जनगणनाप्रति धेरैको चासो कम गएको अनुभूति गर्न सकिन्छ ।

बेमौसमी विपत्ति, बाढीपहिरो र त्यसबाट असामान्य क्षति भोगेकाहरूको कारुणिक ध्यान अन्तै छ । विपत्तिमा फसेकाहरूका लागि तत्काल आफ्नै समस्यामा ध्यान हुनु स्वाभाविक हो । कोरोना सङ्क्रमणका कारण मानिस एक अर्कासँग भेट्न नखोज्नु अर्को समस्या छ । यी सबै कुराका बावजुद अहिले सबैले चासो र ध्यान दिनुपर्ने विषय त सत्यतथ्य जनगणना नै हो । जनगणनामा कोही नछुट्ने र कोही नदोहोरिने सवाल नै हो । सोधिएका प्रश्नको सही र सत्य जवाफको खोजी नै हो । त्यसैले ‘मेरो जनगणना, मेरो सहभागिता’ नारामा मात्र होइन, वास्तविक नागरिकले अनुभूति गर्न सकुन् ।

सरकार, गणक र सही सूचना दिने नागरिक कोही कसैबाट गल्ती र कमजोरी नहोस् । किनकि तथ्याङ्क यस्तो आधार हो, जसको आधारमा समाजको दिशा निर्धारण हुन्छ । देश र जनताको समृद्धिका खाका बन्छन् । अन्तर्राष्ट्रिय रूपमा देशप्रतिको धारणा बन्छ । जनगणनामा सबैको ध्यान जान र प्राथमिकतामा राख्न आवश्यक छ । (साभार-गोरखापत्र)

Ads

सम्बन्धित पोष्टहरू