Ads

लम्पी स्किन रोगबाट कृषक पीडाको आहालमा छन्, सरकार उदासीन भयोः एमाले प्रमुख सचेतक गिरी (भिडियाे)


काठमाडाैँ । नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले पशुचौपायामा संक्रामक ढंगले फैलिइरहेको लम्पी स्किनप्रति सरकार उदासीन रहेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको शुक्रबारकाे बैठकमा बाेल्दै उनले ८ लाख पशुचौपायामा फैलिएको र २७ हजार पशुचौपाया मरिसक्दा पनि सरकारले रोकथामका लागि पहल गर्न नसकेको बताएका हुन्।

‘रोपाइँको बेला छ। गोरूहरू बिरामी भएकाले खेत बाँझै छ। ४ महिनायता फैलिएको लम्पी स्किनले किसानहरू रोइरहेका छन्। पीडाको आहालमा छन्,’ उनले भने, ‘बेलैमा रोकथाम नगर्ने हो भने २५ लाख पशुचौपाया संक्रमित हुने र १ लाख पशु मर्ने विज्ञहरूले बताइरहेका छन्।’

उनले सरकारले अहिलेसम्म २ लाख २२ हजार पशुलाई मात्रै खोप लगाएको र खोपको परिमाण अपर्याप्त रहेको बताए। त्यस्तै, उनले खोप लगाउने कार्य सुस्त भएको पनि बताए।

‘अहिलेसम्म ३७ अर्ब बराबरको क्षति भएको छ। जसरी सरकारले गम्भीरता देखाउनुपर्थ्यो, सकेन। विभागले बजेट छैन भनेर भनिरहेको छ। कार्यालयका हाकिमहरूले बजेटै नभएको बताइरहेका छन्,’ उनले भने, ‘निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रकमान्तर गरेर भए पनि राहत दिनुपर्‍यो।’

Ads

सम्बन्धित पोष्टहरू