काठमाडौं । नेपाली कांग्रेसको रूपान्तरण अभियानले सुझावसहितको प्रतिवेदन बुझाएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई सुझाव प्रतिवेदन बुझाइएको नेता भूपेन्द्रजंग शाहीले जानकारी दिए ।रूपान्तरण अभियानले प्रदेश भेलाबाट प्राप्त सुझाव पार्टीमा छलफलका लागि बुझाएका हुन् । गत जेठ महिनामा सातै प्रदेशमा रूपान्तरण अभियानका भेला भएका थिए ।
रूपान्तरण अभियानले सुझाव प्रतिवेदन सभापति शेरबहादुर देउवालाई नै बुझाउन समय माग गरेका थिए । तर सभापति देउवाको कार्यव्यस्तताका कारण मुख्यसचिवमार्फत सुझाव प्रतिवेदन बुझाइएको हो । विभिन्न ७ वटा विषयले कांग्रेसका कार्यकर्तालाई चिन्तित बनाएको रूपान्तरण अभियानले बुझाएको प्रतिवेदनमा उल्लेख छ । मंसिरको चुनावमा पार्टीको लोकप्रिय मत घट्दै गएको, अस्वभाविक गठबन्धन तथा सरकार निर्माणले राजनीतिक
दुर्घटना भएको, गत वैशाख १० को उपनिर्वाचनमा अनपेक्षित परिणाम आएको, भ्रष्टाचार प्रकरणमा पार्टीका नेताहरूको संलग्नता, पार्टीभित्र छटपटी र आक्रोश, भ्रातृ संस्था भद्रगोल र नीति तथा विधिविहीन तरिकाले पार्टी सञ्चालन हुनुले चिन्तित बनाएको पाइएको रूपान्तरण अभियानले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
पार्टीलाई यथास्थितिबाट मुक्त गर्नुपर्ने नेता गुरूराज घिमिरेले बताए । ‘समग्र रूपबाट पार्टी रूपान्तरण गर्न सकिएन भने कांग्रेसले आगामी चुनौती सामना गर्न सक्दैन भन्ने हामीले ठहर गरेका छौं,’ उनले भने, ‘हामीले सातै प्रदेश भेला गरेर आयौं । प्राप्त गहकिला सुझाव पार्टीलाई बुझाइएको हो ।’आफूहरूले गरेको कांग्रेस रूपान्तरण अभियानलाई पार्टीका तल्ला तहका संरचनाले अनुमोदन गरिदिएको पनि उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्