काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले केन्द्रका नेताहरुले बल प्रयोग गरेर कोसी प्रदेश सरकार निर्माण गरेकोमा त्यसलाई अदालतले सच्याएको बताएका छन् ।
सामाजिक संजाल ट्वीटरमा उनले जानीजानी केन्द्रका सत्ताधारी नेताहरूले बल प्रयोग गरेर प्रदेश सरकार निर्माणमा संविधानको ठाडो उल्लंघन गरेको बताउँदै त्यसलाई सच्याएर सर्वोच्च अदालतले संविधान र राजनैतिक नैतिकताको रक्षा गर्न योगदान पुर्याएकोमा अदालत धन्यवादको पात्र भएको उल्लेख गरेका छन् । उनले संविधानका निर्माताहरू निजी स्वार्थका लागि त्यसलाई मिच्न लगाउने गरेको समेत लेखेका छन् ।
‘तर गम्भीर कुरा के भने यो संविधानका निर्माताहरू नै आफ्नो छुद्र दलीय र गुटीय/ निजी स्वार्थ निम्ति संविधान मिच्छन् र मिच्न लगाउछन् भने संविधानको रक्षा कसले गर्छ ? रक्षक नै भक्षक बनेपछि कसको के लाग्छरु एक पटक आफ्नो सरकार नबने नबनोस्, मध्यावधि चुनाव भए होस् तर संविधान र लोकतन्त्र नमरोस् भन्न किन नसकेको ? आफु र आफ्नो दल हारेर पनि लोकतन्त्र,संविधान,देशले जितोस् भन्ने राजनेताहरूको जन्म कहिले होला ?’ उनले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्