बिराटनगर /कोशी प्रदेशमा सरकार गठनका लागि बहुमत पुर्याउन सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिने भएका छन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पहलमा उनले राजीनामा दिन सहमत भएका हुन् ।माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले सरकार गठनका लागि बहुमत पुर्याउन सभामुख गौतमले राजीनामा दिने बताएका छन् । गौतमले राजीनामा दिए पछि गठबन्धन दलबाट कांग्रेस नेता उद्धव थापाले प्रदेश प्रमुख पर्शुराम खापुङ्ले दिएको समयभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्ने गठबन्धन दलका प्रदेश सांसदको भनाइ छ ।
एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् । सभामुख गौतमले राजीनामा नदिएको अवस्थामा सरकार गठनका लागि गठबन्धन दलको बहुमत नपुग्ने र त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन हुने भएकाले प्रधानमन्त्री दाहालको पहलमा गौतमले पदबाट राजीनामा दिन सहमत भएको माओवादीका प्रदेश सांसदको भनाइ छ । गौतमलाई सभामुख पद छोडेकाले मन्त्री बनाउने निष्कर्षमा पार्टी पुगेको माओवादीका एक सांसदको भनाइ छ । तर गौतम मन्त्रीमा जाने नजाने अहिले नै भने निर्णय भइनसकेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्