काठमाडौ\ विवादास्पद छविका ल्यारक्याल लामालाई सरकारले लुम्बिनी क्षेत्र विकास कोषको उपाध्यक्ष बनाएपछि चौतर्फी विरोध सुरु भएको छ । कांग्रेस, एमाले हुँदै अहिले माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका लामा धेरै पटक विवादमा तानिएका पात्र हुन् । उनले दोहोरो नागरिकता, भारतीय रासनकार्ड तथा राहदानी, तिब्बती शरणार्थी परिचयपत्र लिएको र ठगी तथा अकुत सम्पत्ति आर्जन गरेको आरोप छ । बैंकको लकरमा बन्दुकको गोली राखेको भेटिएपछि उनी पक्राउसमेत परेका थिए । लुम्बिनी जस्तो पवित्र स्थलको नेतृत्व विवादास्पद व्यक्तिलाई दिइएको भन्दै असन्तुष्टि चुलिएको छ ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वभरका बौद्ध धर्मावलम्बीको पवित्र स्थल हो । विश्वभरका बौद्धमार्गी जीवनमा एक पटक यो लुम्बिनीमा पुग्ने चाहना राख्छन् । तर यस्तो पवित्र स्थलको नेतृत्व विवादास्पद छवि भएका व्यक्तिलाई सुम्पिएर सरकारले विश्व शान्तिको सन्देश फैलाउन सक्नेमा प्रश्न उठेको छ ।
लामा वैदेशिक रोजगारीका लागि मकाउ पठाउने भन्दै ठगी गरेको आरोपमा २०७२ चैतमा पक्राउ परेका थिए । तर ३० लाख धरौटीमा रिहा भए । २०७३ फागुनमा इन्भेस्टमेन्ट बैंकको लकरमा उनले राखेका १४ थान गोली भेटिएको थियो । त्यस बेला पक्राउ परेका उनी ६६ हजार ७ सय रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयको स्वामित्व नेपाली कांग्रेसले नबोक्ने बताएका छन् ।
संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्त गर्नुले गलत सन्देश प्रवाह भएको टिप्पणी पनि गरे । उनले विवादास्पद छविका लामाको नियुक्तिप्रति नेपाली कांग्रेसको प्रष्ट विमति रहेको भन्दै सो निर्णयको स्वामित्व कांग्रेसले नलिने जनाए । सरकारको सो निर्णयप्रति नेपाली कांग्रेस पार्टीको आपत्ति रहेको उनको भनाई छ । सरकारको निर्णयप्रति पार्टीबाट सरकारमा समावेश उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि आफुले ध्यानाकर्षण गराएको शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्