Ads

माओवादीको प्रवक्ताबाट हटाइए महरा, सापकोटालाई जिम्मेवारी


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको प्रवक्ताबाट कृष्णबहादुर महरालाई हटाएको छ । पार्टीको उपाध्यक्षसमेत रहेका महरालाई प्रवक्ताबाट हटाइ उनको ठाउँमा अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई उक्त जिम्मेवारी दिइएको हो ।

हालैको केन्द्रीय कमिटीको बैठकपछि नेताहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा पार्टीको प्रवक्ता पनि परिवर्तन भएका छन् । पार्टीको प्रवक्ताको जिम्मेवारी सम्हालेपछि सापकोटाले आज दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

२०७४ साल फागुन २६ गते महरा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । सभामुख पदका लागि उक्त दिन भएको उम्मेदवारी मनोनयनमा महराको मात्र उम्मेदवारीको सूचना परेपछि निर्विरोध निर्वाचित भएका थिए ।

यद्यपी, २०७६ सालको असोज १२ गते साँझ महराले आफूलाई बलात्कार गरेको भन्दै एक महिलाले आरोप लगाएपछि उनलाई असोज १९ गते सभामुखको निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । उनलाई काठमाडौं जिल्ला अदालत न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले कार्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

महरा पुर्पक्षका लागि थुनामा गएपछि केही समय नेतृत्वविहीन बनेको प्रतिनिधिसभामा सोही वर्षको माघ १२ गते सभामुख चुनिएको थियो । त्यतिबेला सापकोटा पनि निर्विरोध निर्वाचित भएका थिए । सोही वर्षको फागुन ५ गते काठमाडौं जिल्ला अदालतकै न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो । सापकोटाले भने २०७९ मंसिर ४ को निर्वाचन सम्पन्न नहुँदासम्म सभामुखमै रहेर कार्यकाल पुरा गरे । यी दुवै नेता गएको निर्वाचनमा उम्मेदवार बनेनन् ।

Ads

सम्बन्धित पोष्टहरू