काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका कारण बैठक चल्न नसकेको हो । बैठक सुरु भएपछि उठेर विरोध गरेपछि सभामुखले एमाले सांसद सूर्य थापालाई बोल्न समय दिए । तर, सत्ता पक्षका सांसदहरूले समेत उठेर विरोध जनाएपछि होहल्लाका बीच सांसद थापाले सुन तस्करी प्रकरणमा गृहमन्त्रीको जवाफ तस्करलाई जोगाउने गरी आएको भन्दै आफूहरूको विरोध जारी रहने बताए ।
त्यसपछि एमाले सांसदहरु उठेर वेल घेराउ गर्न पुगेका थिए । उनीहरूले वेल घेराउ गर्दै नाराबाजी गरे । उनीहरूले ‘सुन तस्करलाई कारबाही गर, उच्च स्तरीय छानबिन समिति गठन गर, सुशासन कायम गर’ लगायतका नारा लगाएका थिए ।
सभामुख देवराज घिमिरेले बैठक चलाउने वातावरण बनाउन गरेको आग्रह एमालेले नमानेपछि उनले कार्यसूची हटाउँदै बैठक स्थगित गरे । उनले अर्को बैठक साउन २६ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् । एमालेले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० बाट सदन अवरुद्ध गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्