गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। गण्डकी प्रदेशसभाको शून्य समयमा उनले प्रदेशसभा सदस्यले समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ दिँदै अविरल वर्षासँगै आएको बाढी पीडितको उद्धार र अवरुद्ध सडक सञ्चालनमा सरकारका सबै निकाय परिचालन गरिएको जानकारी दिए।
मुस्ताङको कागखोलामा आएको लेदोसहितको बाढीले बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागवेनीमा २१ घर, चार गोठ, वडा कार्यालय, प्रहरीचौकी, समाज घर, आमासमूह र युथ क्लबको भवन, धर्मशाला, एक पक्कीपुललगायत विभिन्न ३६ वटा पक्की संरचनामा क्षति पुगेको सभासमक्ष अवगत गराए।
“बाढीले पुरेको कागवेनी क्षेत्रमा दुई वटा एस्काभेटर परिचालन गरी लेदो हटाउने काम भइसकेको छ ।”, प्रदेश विपद् व्यवस्थापन कार्यसमितिको अध्यक्षसमेत रहेका मुख्यमन्त्री पाण्डेले भने, “त्यस क्षेत्रमा आवश्यक त्रिपाल, व्याङ्केट, टेन्टसहित आवश्यक औषधि, खाद्यान्नलगायत बन्दोबस्तीका सामग्री उपलब्ध गराइएको छ।”बाढी प्रभावित क्षेत्रमा खानेपानीको व्यवस्था भइसकेको बताउँदै उनले २८ वटा विजुली खम्बा बगाएको र आज साँझसम्म पुनःस्थापना गरी सञ्चालन गरिने विश्वास व्यक्त गरे।
बाढीग्रस्त क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि, स्थानीय विभिन्न सङ्घसंस्थाको सक्रियतामा उद्धार कार्यमा जुटेका कारण मानवीय क्षतिबाट जोगिन सफल भएको बताउँदै उनले प्रभावित क्षेत्रमा प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापना समिति, नेपाल रेडक्रस सोसाइटीले आवश्यकताअनुसारको राहत वितरण गर्दै आएको बताए ।
कालीगण्डकी नदी बस्तीभन्दा माथि आएका कारण भविष्यमा हुने सम्भावित क्षति न्यूनीकरणका लागि भूगर्भविद्, जनप्रतिनिधि, प्राविधिकसहितको टोलीले सम्भाव्यता अध्ययन गरी समाधान खोजिने तयारी भइरहेको उनको भनाइ छ ।मुख्यमन्त्री पाण्डेले नारायणी नदीमा आएको बाढी नवलपुर जिल्लाको त्रिवेणीस्थित बोटेबस्तीमा पस्दा एक सय घरमा क्षति पुग्दा तीन सय ५० जना प्रभावित भएको बताउँदै उनले यसको दीर्घकालीन समाधानका लागि सङ्घ सरकारसँग सहयोगका लागि सिफारिस गरिएको प्रदेशसभामा स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस्