काठमाडों । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले अबको देशको प्रधानमन्त्री पार्टी सभापति शेरबहादुर देउवा भएको बताएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपछि देउवा नै प्रधानमन्त्री हुने दाबी गर्दै निधिले देउवाको प्रधानमन्त्रीत्वमा नै आगामी आमनिर्वाचन हुने बताएका हुन् ।
धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाका स्व पिता सोमनाथ ढुङ्गानाको १३औं दिनको पुण्यतिथिमा नेता निधिले वर्तमान सरकार निर्माण गर्दा नै २०८४ को आमनिर्वाचन पार्टी सभापति देउवा नेतृत्वको सरकारले गराउने सहमति भएको दाबी गरे ।
उनले भने–‘चालु संसद् पाँच वर्ष कायम रहनु नै वर्तमानको सन्दर्भमा स्थिरता कायम रहनु हो, यो संसद् पाँच वर्ष नै कायम रहन्छ, २०८४ मा हुने आम निर्वाचनसम्म देशमा तीन वटा प्रधानमन्त्री पाउने छ, संसद् विघटन हुने छैन ।’
सरकारको नेतृत्व परिवर्तन हुनु अस्थिरता नभएर संसद् विघटन हुनु अस्थिरता रहेको निधिले बताए । उनले २०८४ सालको निर्वाचनमा कांग्रेसले बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै त्यसका लागि कांग्रेसको सङ्गठन मजबुत बनाउन र जनमुखी काम गर्न कार्यकर्तासँग आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्