Ads

मुख्यमन्त्री थापाले पाउलान् त विश्वासको मत ?


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।

प्रदेश सभा सभामुखविहीन भएको अवस्थामा विश्वासको मत लिने प्रदेश सभाको बैठक उपसभामुख सिर्जना दनुवारको भूमिकामा निर्भर छ । नेकपा एमालेबाट निर्वाचित दनुवारले प्रदेश सभा सञ्चालनको दायित्वबाट आफू पछि नहट्ने बताउँदै आएकी छन् । प्रदेश सभा नियमावलीअनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि चारजना प्रदेश सभा सदस्यलाई मनोनयन गरिएको छ ।

बैठक सञ्चालनका लागि मनोनयन गरेका चारजना प्रदेश सभा सदस्यमध्ये नेकपा एमालेकी मालतीकुमारी लिम्बू र राप्रपाका अम्मरबहादुर विष्टले सोमबारको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् । बाँकी दुईजना गीता तिम्सिना नेकपा माओवादी केन्द्रकी हुन् भने इस्राइल मन्सुर नेपाली कांग्रेसका हुन् । उपसभामुख दनुवारले राजीनामा नगरेको अवस्थामा यिनै दुईमध्ये एक जनाले बैठकको अध्यक्षता गर्ने कोशी प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जनाए ।

सत्ता गठबन्धनका लागि चाहिने बहुमत पुर्‍याउनकै लागि सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर गठबन्धनले उनलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाइसकेको छ । पदबाट राजीनामा दिएर वा बैठकमा अनुपस्थित रहेर उपसभामुख दनुवारले एमालेअनुकूल कदम चाल्न सक्ने आशंकामा सत्तापक्षले बैठकको अध्यक्षता गर्नुपर्ने अवस्था आउन नदिन ज्येष्ठ सदस्य गयानन्द मण्डलाई राज्यमन्त्री बनाइसकेको छ ।

९३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक गरी सत्तापक्षसँग ४७ जना प्रदेश सभा सदस्य छन् । विपक्षमा भने नेकपा एमालेका ४० र राप्रपाका छ गरी ४६ जना प्रदेश सभा सदस्य छन् ।

Ads

सम्बन्धित पोष्टहरू