काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवास प्रकरणमा बयान र अनुसन्धानबाट उन्मुक्ति दिएको आरोप लागिरहेका बेला पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बयान दिएको बताएका छन् । डा. भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत् ललिता निवास प्रकरणमा आफ्नो नेतृत्वको मन्त्रिपरिषद्को निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीलाई बताएको उल्लेख गरेका छन् ।
उनले सीआईबीलाई उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी दिएर आफ्नो कर्तव्य निर्वाह गरेको बताएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘ ललिता निवास प्रकरणमा मेरो पालाको मन्त्रीपरषदको निर्णय सम्बन्धमा उठेका प्रश्नहरूवारे सत्यतथ्यको जानकारी मेरो शुरूदेखिको सार्वजनिक प्रतिवद्धता बमोजिम केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई दिएर आफ्नो कर्तव्य निर्वाह गरेको छु ।
यो मुद्दा सफल टुंगोमा पुगेर देशमा सबै तहका सबै प्रकारका भ्रष्टाचार तथा अनियमितता अन्त्य गर्न र सुशासनको प्रत्याभूति गर्न गराउन एउटा दरो प्रस्थानविन्दू बनोस् भन्ने कामना गर्दछु ।’सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधव नेपालको बयान नलिइ प्रतिवेदन बुझाउन लागिएको भनेर आलोचना भइरहेका बेला डा. भट्टराईको यस्तो अभिव्यक्ति आएको हो । यद्यपि सीआईबीले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन् ।
प्रतिक्रिया दिनुहोस्