काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ । सोमबार साँझ सीआईबीको टोलीले गच्छदारसँग बयान लिएको हो । ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २०७६ माघ २२ गते दायर गरेको मुद्दामा पनि गच्छदारलाई अभियुक्त बनाइएको छ ।
उनलाई ९ करोड ६५ को बिगो दाबी गरिएको थियो । कांग्रेसका पूर्व उपसभापति समेत रहेका गच्छदारसहित १ सय ७५ जनाविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ । मुद्दा दायर भएपछि लुकेर बसेका गच्छदार सरकार परिवर्तन भएपछि विशेष अदालतमा उपस्थित भएका थिए । उनलाई अदालतले २०७८ असार ३० मा १० लाख रुपैया धरौटीमा रिहा गरेको थियो ।
गच्छादार उपप्रधान तथा भौतिक योजना मन्त्री हुँदा नक्कली मोही खडा गरिएको प्रस्ताव मन्त्रिपरिषदमा लगेको अभियोग छ । त्यस समयमा दीप बस्न्यात सो मन्त्रालयका सचिव थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त समेत रहेका बस्न्यातविरुद्ध पनि विशेष अदालतमा मुद्दा छ ।
उनीहरुले तयार पारेको प्रस्तावमा राजकुलो, बाटो र समरजंग कम्पनीलाई जग्गा दिने भन्ने उल्लेख थियो । उनीहरुले तयार पारेको प्रस्ताव क्षेत्राधिकार भन्दा बाहिर भएको अख्तियारको ठहर छ । सीआइबीले सोमबारै पूर्वमन्त्री चन्द्रदेव जोशीसँग पनि बयान लिएको थियो । आईतबार राति पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईको पनि बयान लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्