काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद्हरूले सदनको गतिरोध लामो समय राखिएकामा चिन्ता व्यक्त गर्दै भ्रष्टाचार नियन्त्रण र जनतालाई सेवा दिने विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । बैठकमा दलीय आधारमा समसामयिक विषयमा धारणा राख्दै नेकपा (माओवादी केन्द्र) का सुरेश आलेमगरले सदनमा प्रतिपक्षले मात्रै अवरोध गर्ने संस्कारको अन्त्य हुनुपर्ने बताए ।
नेकपा (एमाले) का देवेन्द्र दाहालले एक भारतीय विवादित बाबालाई नेपालमा अनावश्यक सम्मान दिइएको र मन्त्रीहरू नै उनलाई भेट्न होटलमा लाइन लागेर गएको भन्दै विरोध व्यक्त गरेका छन् । नेपाली कांग्रेसका प्रकाश पन्थले प्रमुख प्रतिपक्ष दल सदनमा जिम्मेवारी रुपमा प्रस्तुत भई सरकारलाई जवाफदेही बनाउन पर्नेमा जोड दिए । एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा) ले सुदूरपश्चिमको भीमदत्त राजमार्गको बुढीतोलामा सडक नराम्ररी भासिएकाले छिटो र प्रभावकारी पुनःनिर्माण गर्न आग्रह गरेका छन् ।
एमालेका डा विमला राई पौडेलले ‘कामना’ मासिक पत्रिकाले गाईजात्रा नामक अङ्कमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसँग महिलाको पाठेघरलाई जोडेर गरिएको व्यङ्ग्यप्रति आपत्ति जनाए । सांसद् वामदेव गौतमले सदनलाई यसरी अवरोध गर्नै कुरा जनताको बहुदलीय जनवादको विचारसँग मेल नखाने टिप्पणी गरेका छन् । सांसद् डा खिमलाला देवकोटाले विपक्षीले अवरोध र सरकारले विजनेश नदिएर सदनलाई अर्थहीन बनाउने कोसिस गरिएको धारणा राखका छन् ।
सांसद्हरू शेखरकुमार सिंहले खडेरीमा बिउबिजन नष्ट भएर समस्या भोगेका किसानलाई राहत दिन माग गरेका छन् । सांसद् तुलप्रसाद विश्वकर्माले विगतमा पनि सुन तस्करीको घटनामा उच्चस्तरीय आयोग गठन भए पनि परिणाम नआएकाले अहिले आयोग गठनकको माग गर्नु सान्दर्भिक नहुने जिकिर गरेका छन् । सभाका आज अन्य कुनै कारवाही भएन । राष्ट्रियसभाको अर्काे बैठक यही भदौ १० गते आइतबार दिउँसो १ः ०१ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्