बेनी (म्याग्दी) । प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनःस्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसामै फर्केका छन् । पढ्ने रहर अधुरै भएका आमाहरुलाई लक्षित गरेर बेनीको मङ्गलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२ वर्षीय सुवेदीले स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसालाई पुनःनिरन्तरता दिएको हुन् ।
लामो समयसम्म प्रकाश माविको प्रधानाध्यापक भएर जिम्मेवारी पूरा गरेका सुवेदीले अस्थायीसहित ४३ वर्ष छ महिना १८ दिन शिक्षण गरेका थिए । विसं २०७८ फागुन १८ गते अनिवार्य अवकाश लिएर सेवानिवृत्त दैनिकीमा समय बिताउँदै आएका सुवेदी यही भदौ पहिलो सातादेखि उज्यालो वैकल्पिक विद्यालयमा जोडिएका हुन् ।
आमाहरुले अध्ययन गर्दै आएको विद्यालयमा शिक्षकको अभाव भएको र विद्यालय व्यवस्थापन समितिबाट भएको आग्रहबमोजिम आफू स्वयंसेवक भूमिकामा पुनःशिक्षणमा फर्किएको उनले बताए । “अधिकांश विद्यार्थी आमाहरु नै हुन्छन, उनिहरुमा पढ्ने तीव्र इच्छाशक्ति छ, मेरो अनुभव र क्षमताले भ्याएसम्म उनिहरुको सिकाइ उपलब्धि बढाउनतर्फ मेरो प्रयास रहन्छ”, सुवेदीले भने ।
सानो उमेरमा अध्ययन गर्न नपाएका, बीचैमा विद्यालय छाडेका महिला र आमाहरुलाई लक्षित गरेर बेनी सामुदायिक विद्यालय मातृ विद्यालय रहनेगरी विसं २०७१ देखि बेनीमा उज्यालो वैकल्पिक विद्यालय सञ्चालनमा आएको थियो । अहिले सामाजिक विकास कार्यालय सञ्चालनमा रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालयको भुँइतलामा कक्षाकोठा व्यवस्थापन गरेर कक्षा १ देखि १० सम्म पठनपाठन सञ्चालन गर्दै आइएको छ ।
विद्यालयमा अहिले ३३ विद्यार्थी अध्ययनरत छन् । विविध कारणले बीचैमा पढाइ छाडेका महिला र आमाहरु नै विद्यालयका विद्यार्थी हुन् । जीवनको कुनै चरणमा शिक्षाको ठक्कर लागेर अध्ययन गर्न आएका आमाहरु विद्यार्थी भएकाले पनि पठनपाठन गराउन सहज भएको शिक्षक सुवेदीको भनाइ छ ।
“विद्यालयमा सबैभन्दा गाह्रो काम भनेको विद्यार्थीलाई प्रेरणा दिनु हो, उनिहरु आफैँ पढ्नपर्छ भनेर विद्यालय आएका छन् , पढ्ने उत्कृष्ट चाहना हुनु नै आधा सिकाइ हुनु हो, हामीले उनिहरुको क्षमताको पहिचान गरेर सिकाइ उपलब्धि बढाउने गरी शिक्षण गर्ने जमर्को गर्छौं”, उनले भने । शिक्षाको अवसरबाट बञ्चित भएका आमाहरुलाई साक्षर गराउने कार्यमा सहभागी हुन पाउनु आफ्ना लागि पनि योगदान गर्ने अवसर रहेको सुवेदीको भनाइ छ ।
शिक्षक सुवेदीसहित विद्यालयमा नवनियुक्त तीन शिक्षकलाई शुक्रबार विद्यालयमा स्वागत गरिएको छ । सेवानिवृत्त जीवन आमाहरुलाई साक्षर बनाउने कार्यमा खर्चिनु आफैँमा स्वागतयोग्य र प्रशंसनीय रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश शाक्यले बताए ।
लामो समयसम्म एउटा विद्यालयको प्रधानाध्यापक भएर विद्यालयलाई उत्कृष्ट बनाउन सफल शिक्षक सुवेदीको आगमनले उज्यालो वैकल्पिक विद्यालयको समग्र शैक्षिक विकास र गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष शाक्यले बताए । यस विद्यालयमा अहिले छ जना शिक्षक कार्यरत छन् ।
विद्यालयमा अध्ययन गरेर दुई वर्षदेखि आमाहरुले एसइई परीक्षासमेत उत्तीर्ण गर्दै आएका छन् । यस वर्षको एसइईमा नौ आमाहरु एसइईमा उत्तीण हुन सफल भएको विद्यालयका शिक्षक साहारा थापाले जानकारी दिए । उनका अनुसार विद्यालयमा ६० वर्षसम्मका आमाहरु अध्ययनरत हुन्छन ।
विद्यालय सञ्चालनमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा विकास तथा समन्वय एकाइ र बेनी नगरपालिकाले सहयोग गरेका थिए । सहयोगको निरन्तरता नभएको र स्रोतको सुनिश्चिता नहुँदा सहयोग जुटाएर विद्यालयमा कार्यरत शिक्षकको तलब सुविधा उपलब्ध गराउनुपर्ने बाध्यता आएको विद्यालय व्यवस्थापन समितिका सहसचिव सन्दीप खत्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्